जाडो महिनामा ‘घुमन्ते’ ले घुम्न सुझाएका प्रसिध्द ५ ठाउँहरु (तस्बिरसहित)

कंचन राई । घुमन्ते

जाडो दिनानुदिन बढ्दैछ। यस्तो जाडोमा पनि घुम्न जानु? धेरैले यस्तै साेच्नुहुन्छ होला! तर जाडोमा घुम्नुको पनि बेग्लै मजा छ ।

जाडो महिना लागेसँगै हिमाली भेगमा हिमपात हुन्छ । आँखैअगाडि हिमाल हेर्दै हुर्किएकाले हुनसक्छ, हामी हिउँमा धेरै रमाउँछौँ। केही समययता हिउँ खेल्ने ठाउँ खोज्दै हिँड्ने ‘ट्रेन्ड’ पनि चलेको छ । विशेषगरी फूल्चोकी, दामन र हालैका वर्षहरूमा चन्द्रागिरी, कालिञ्चोक लगायत ठाउँ हिउँ खेल्न लोकप्रिय छन् । लोकप्रियता सँगसँगै यी ठाउँमा भीडभाड उत्तिकै हुन्छ । बाटैभरी जाम हुन्छ। त्यही हुलमुलका कारण सोचेजति रमाइलो पनि हुन्न ।

यही भीडभाडबाट उम्केर केही दिन समय निकाल्नसके सुन्दर दृश्यावलीसँगै निस्फिक्री हिउँ खेल्न पाइने गन्तव्य नेपालमा जताततै छन् । तिनैमध्ये हामी पुगेका वा हामीले थाहा पाएका ५ गन्तव्य यस्ता छन्ः

१. क्रपु डाँडा, ३०८५ मिटर, कास्की

पोखरेलीका लागि हिउँ खेल्न यो सम्भवत: सबैभन्दा नजिक र सहज गन्तव्य हो। पोखराबाट करिब तीन घण्टाको दुरीमा सुन्दर गुरूङ गाउँ ताङतिङ हुँदै क्रपु डाँडा पुग्न सकिन्छ। डाँडामा खाने-बस्ने व्यवस्था राम्रो छ। हिउँमा रमाउँदै अन्रपूर्ण श्रृंखला, लम्जुङ हिमाल, माछापुच्छ्रे हिमाल हेर्दै आनन्द लिन सकिन्छ। पोखराबाट नजिक भएकाले काठमाडौंबाट पनि यहाँ पुग्न सहज छ ।

२. सैलुङ्ग डाँडा, ३१४६ मिटर; दोलखा, रामेछाप

काठमाडौंबाट नजिक पर्ने सैलुङ डाँडा कालिञ्चोकको उत्तम विकल्प हो । झण्डै उही उचाइमा भएको सैलुङ डाँडालाई १०१ थुम्काको डाँडा पनि भनिन्छ । हिउँ पर्दा यी थुम्का रमणीय लाग्छन् । काठमाडौंबाट करिब ४-५ घण्टाको यात्रामा सैलुङ डाँडा पुग्न सकिन्छ। दोलखाको मुढे वा रामेछापको दोरम्बा हुँदै जाने दुई विकल्प छन् । थुम्काहरूमा सिधा घाम पर्ने भएकाले हिउँ भने यहाँ छिट्टै पग्लिन्छ ।

३. हल्जुरे, २४४५ मिटर, पर्वत

पैदलयात्रा नै नगरी गाडिबाटै पुग्न सकिने अर्को उत्कृष्ट गन्तव्य हो पर्वतको हल्जुरे डाँडा । अन्नपुर्ण श्रृंखला, धौलागिरी आँखै सामुन्ने देखिने यो डाँडा हिउँ पर्दा अझै रमणीय हुन्छ । पोखरादेखि यहाँसम्म करिब ४-५ घण्टाको गाडी यात्रामा पुग्न सकिन्छ । खासै चर्चामा नआएको ठाउँ भएकाले यहाँ अहिले केवल एउटा मात्र होटल छ तर छेउछाउका घरहरूमा बासको जोहो गर्न सकिन्छ ।

४. धाप, ओखलढुंगा र पत्ताले, सोलुखुम्बु

सोलुखुम्बु जिल्ला र ओखलढुंगाको सीमानामा पर्ने दुई बजार पत्ताले र धाप हिउँ खेल्न जानेहरूका लागि अर्को सहज गन्तव्य हो । वि.पि. राजमार्ग हुँदै खुर्कोटबाट पहाडी लोकमार्ग पछ्याएर धाप करिब ६ घण्टाको सडक यात्रामा पुग्न सकिन्छ । सर्वोच्च शिखर सगरमाथा सजिलै हेर्न पाउनु यी दुई स्थानको अर्को विशेषता हो । चल्तीको बाटो भएकाले खाने-बस्ने व्यवस्था पनि यहाँ राम्रो छ ।

५. रामारोशन, अछाम (२५००-३५०० मिटर)

नेपालको घुम्नै पर्ने ठाउँमा मैले कहिल्यै नछुटाउने नाम हो रामारोशन । कारण हरेक मौसममा यहाँ घुम्न अर्कै आनन्द छ । हिउँ परेको बेला रामारोशन छुट्टै देखिन्छ। वरपरका डाँडा सेताम्मे हिउँले हिमालझैँ देखिन्छन् । ताल वरपर र यहाँका मैदानमा हिउँकै सेतो गलैँचा बिच्छ्याएजस्तो लाग्छ । उत्तरी युरोपको कुनै सुन्दर निकुञ्जझैँ लाग्छन् यहाँका जंगल । यहाँ पनि घाम सिधा पर्ने भएकाले हिउँ धेरै समय टिक्दैन । बाक्लो हिउँ खेल्ने इच्छा भए आधा-एक घण्टा माथिका डाँडातिर उक्लिन सकिन्छ । त्यसो गर्दा हिउँसँगै पूरै रामारोशन क्षेत्रको मनोरम दृश्य पनि हेर्न पाइन्छ । खाने-बस्ने सुविधा उपलब्ध छ। स्थानियहरू फरासिला छन् ।

माथिका यी सबै गन्तव्य सडक यात्रामै अथवा बढीमा आधा घण्टाको पैदल यात्रामा पुग्न सकिन्छ। २-३ दिन समय भएकाहरूका लागि १-२ दिनको छोटो पदयात्रामा पुगिने विकल्प प्रशस्त छन्। खुमै डाँडा, कोर्चन डाँडा, कोखे डाँडा, पाँच पोखरी, कोरी, पिके, दूधकुण्ड लगायतका स्थान अलिकति समय र पदयात्रा रूचाउनेका लागि उत्कृष्ट र सजिला विकल्प हुन् ।

स्रोत- सेतोपाटी