क्रपुडाँडामा पर्यटन व्यवसाय गर्न हौसिएका युवाहरु

दिवस गुरुङ, ढोरपाटन न्युज ।

स्रोत- ढोरपाटन न्युज

आम मानिस हिँड्ने राजमार्गभन्दा फरक आफ्नै गोरेटोमा हिँड्न रुचाउनेहरुको यात्रा कठीन त हुन्छ नै तर फरक अनि विशेष पनि ! यही यात्रामा छन्–हिमाल गुरुङ ।

लामो समय यता आन्तरिक तथा बाह्य पर्यटकहरुको रोजाइमा परेको सुन्दर गन्तव्य हो ताङतिङ गाउँ । आँखै अगाडि देखिने लोभलाग्दा हिमश्रृंखलाहरु, चिटिक्क परेको गुरुङ बस्ती अनि होमस्टेको अर्गानिक स्वाद र त्यहाँको आतिथ्यता, यहीँ चाख्न पर्यटकहरु फर्कीफर्की यहाँ आउँछन् ।

जाडो याममा गाउँको शिरानक्रपु डाँडामा हिउँ हाल्यो । अनि हिउ खेल्न पर्यटकको लर्को लागेपछि ताङतिङमा पर्यटकहरु खचाखच छन् अहिले । भ्याइनभ्याइ छन् होटल अनि होमस्टेलाई । पहिलो रात होमस्टेमा बस्छन्, अनि अर्कोदिन पर्यटकहरुक्रपु डाँडा उक्लिन्छन् । धीतमरुन्जेल हिउ खेल्छन् अनि शहर फर्कन्छन् ।

यता युवाहरुमाझ क्रपु डाँडा चर्चामा आएको त्यति लामो समय भएको छैन । पुग नपुग एक महिना मात्र । क्रपु डाँडामा दुई होटलहरु सञ्चालनमाआए । एकका सञ्चालक हुन्– हिमाल गुरुङ । क्रपु डाँडामा हिउँ हालेपछि उनले टिकटकमा लोभलाग्दा भिडियो र फोटाहरु राखे । छिनभरमै ती भिडियोहरु भाइरल भए । हजारौंले हेरे, सयौंले सेयर गरे । पोखरा वरपरलगायत विभिन्न ठाउँका मानिसहरुले उनीसँग यस ठाउँबारे जानकारी बटुल्न थाले । अनि ओइरिन थाले पर्यटकहरु । थामी नसक्नु भीड भएपछि धेरै गुप्रलाई त ताङतिङमै होल्ड गर्नुपर्ने अवस्थासमेत सिर्जना भयो ।

हिमाल गुरुङ । उमेरले भर्खर २६ लागे उनी । घर उनको ताङतिङ गाउँ । गाउँले परिवेशमै उनको बाल्यकाल बित्यो । ६ कक्षासम्म गाउँमै पढेका उनले एसएलसी पोखराबाट उत्तीर्ण गरे । देहारदुनबाट प्लस टु साइन्स पढे । इन्फोमेटिक्समा बिआइटी पढ्दै गरेका उनलाई एकाएक क्रपु डाँडाले लोभ्यायो । शहर छाडेर गाउँ फर्के । अनि उक्ले गाउँमाथिको क्रपु डाँडामा । त्यसपछि सुरु भयो उनको व्यावसायिक यात्रा ।

क्रपु डाँडा । गुरुङ भाषामा ‘क्र’ को अर्थ टाउको र ‘पु’ को अर्थ हो–रक्सी बनाउँदा रक्सी जम्मा गर्ने माटाको भाँडा । त्यसैले यसको अर्थ रहन जान्छ, गाउँको सिरानमा रहेको गोलो आकार परेको सम्म भूभाग । पहिले पहिले गाउँलेहरु गाईभैसी चराउन यहाँ आउथे । घाँसदाउरा गरेर साँझमात्र घर फर्कन्थे । यहाँबाट करिब १० घण्टामा पर्छ, गुरुङ जातिको उद्गम स्थल क्व्होलासोथार । त्यहाँ पुगेर आएकाहरु रात पर्दा यहीँ धर्मशालामा बस्थे । रात काट्थे । अनि गाउँ फर्कन्थे ।

बाल्यकालदेखि नै उनमा गाउँघरको प्रगाढ प्रेम थियो । शिक्षाका लगि शहर पसेपनि गाउँमै फर्केर भविष्य खोज्नुपर्छ भन्ने सोच राख्नेमध्ये एक थिए । सानो छँदा गाउँ जोड्ने सडक थिएन, मादी तरेर अनेक दुःख खेपेर शहरबाट गाउँ आउँदाको सकस उस्तै थियो, उनी बिगतमा फर्कन्छन्, ‘त्यसैले उतिबेला सपना बुन्थे, पढेर इन्जिनियर बन्छुअनि गाउँसम्म मोटर बाटो डिजाइन गर्छु । पछिल्लो समय बिआइटी पढ्दै गर्दा पनि प्रविधिसँग पर्यटनलाई जोडेर सिंगो ताङतिङ गाउँको पर्यटन उकास्न सक्नेमा दृढ संकल्प राखेको छु ।’

गुरुङको छोरो । हट्टाकट्टा ज्यान । बा पनि इन्डियन लाहुरे । तर, पनि लाहुरे बनेर अर्काको देशमा गुलामी गर्ने रहर उनमा कहिल्यै जागेन । न त घरबाटै दबाब आयो उनलाई । आमा पनि शिक्षिका । बा पनि पढेलेखेका । त्यसैले दुवैले छोरालाई आफ्नो हरेक निर्णय लिने जिम्मा उनैलाई सुम्पिदिए । जे गर्छु, आफ्नै देशमा गर्छु । अझ आफ्नै गाउँमा, उनलाई लाग्थ्यो । क्रपु डाँडाबारे धेरै सुनेपनि केही वर्षअघि मात्र साथीभाइसँग क्रपु डाँडा उक्लेका थिए । पहिलोपल्ट त्यहाँ पुग्दा नै उनी लोभिएका थिए, प्यानारोमिक हिमश्रृंखलाको दृश्य, ढकमक्क फुलेका गुराँस अनि झिलिमिली देखिएको पोखरा शहर नियाल्दा ।

मादी गाउँपालिकाले क्रपु डाँडाको प्रवद्धनका लागि केही वर्ष अघि त्यहाँ टि हाउस र होटलहरु खोल्नका लागि टेन्डर आह्वान गर्‍यो । त्यतिबेला जंगलैजंगल परेको ठाउँ । लगानी गर्न सबै हच्किन्थे । त्यतिबेला न सडकले जोडेको थियो न पानीको सुविधा नै, गुरुङ भन्छन्, ‘क्रपुको वास्तविक महत्व थाहा पाउन ढिला गर्नुहुँदैन, मलाई त्यतिबेलै लागेको थियो । मैले टेन्डर हालेँ । पर्‍यो पनि । त्यतिबेला सही निर्णय लिएकोमा अहिले खुसी नै लाग्छ ।’

पछिल्लो समय मादी गाउँपालिकामा रहेका कपुचे ताल, कोरीलगायत विभिन्न नयाँ गन्तव्यहरु पर्यटकहरुको रोजाइमा परिसकेका थिए । विस्तारै स्थानीय सरकार र यहाँका प्रतिनिधिहरुको पहलमा क्रपु डाँडा हुँदै क्व्होलासोथार जोड्ने सडक विस्तारका लागि बजेट विनियोजना भयो । सडक सञ्जालले जोडिएसँगै धेरै सहज भयो । डाँडालाई सम्याइयो । एक घण्टा माथि मुलबाट खानेपानी यहाँसम्म ल्याइयो । अनि सुरु भयो क्रपु डाँडाको नयाँ स्वरुप ।

सोचेझैं सधैं कहाँ हुन्छ र ? बुनेका योजनाहरु कोरोना महामारीले बिथोलिदियो । पहिलो र दोस्रो कोरोना लहर बाधकको पहिलो कारण थियो भने झन्झटिला कानुनी प्रक्रिया दोस्रो थियो । १५ वर्षसम्म यस ठाउँमा व्यवसायका लागि सम्झौतासमेत भयो । दुई वर्ष राजस्व छुट पनि गरिदिने भयो । उनी ढुक्क भए अनि सुरु गरे संरचना बनाउन ।

व्यवसाय एक्लैले गर्न कठिनाइ हुन्छ नै । बुबा र आमाको आफ्नै व्यस्तता । भाइबहिनी अझै पढ्दै छन् । उनलाई व्यवसायमा साथ दिन आइपुगे उनका सोल्टी अम्रिस गुरुङ । दुवैको संयुक्त लगानीमा किचन र डाइनिड बनाए, त्यो पनि स्थानीय स्रोत साधनहरुको प्रयोग गरेर । आकर्षक काठको छाप्रोसहितको आकर्षक टेन्टहरु बसाले । नयाँ शौचालयहरु बनाए । बीचैमा रहेको पोखरीको मर्मत संहार पनि गरे । अनि पर्यटक गुहारे ।

अहिलको सबैभन्दा राम्रो प्रचारको माध्यम हो सामाजिक सञ्चाल । उनले पनि यही अस्त्र प्रयोग गरे । ‘द मिडनाइट क्याम्परस क्रपु #themidnightcampers_’ नामक टिकटक एकाउन्टका भिडियोहरु रातारात भाइरल भए । अनि ओइरिन थाले पर्यटकहरु । कति बाइकमा त कति हिँडेरै । कतिलाई त तल ताङतिङ गाउँमै होल्ड गरेर राख्नु पर्ने अवस्था आयो, उत्साहित मुद्रामा उनले भने, ‘दिनमै सयौं जना आउन तारान्तर फोन आउँथ्यो तर हाम्रो क्षमता अहिले २० देखि २५ जनाको मात्र छ । बढी भएका पाहुनाहरुलाई अर्को होटलमा पनि रिफर गरिदिन्छौं ।

क्वान्टिटीभन्दा पनि क्वालिटीमा हामीले जोड दिएका छौँ । पाहुनाको पूर्ण सन्तुष्टि नै हाम्रो एकमात्र प्राथमिकता रहनेछ ।’

मादी गाउँपालिकाले यहाँ निमार्ण हुने संरचनाहरुको आफ्नै मापदण्डहरु निर्धारणा गरेका छन्, उनी थप्छन्, ‘सकेसम्म सबै संरचनाहरुले गाउँले परिवेश झल्काउने हुनुपर्छ । अनि हामीले त्यसैले अनुसरण गरेर ग्रामीण छनक पस्काउने प्रयास गर्दै छौं । डाँडा कंक्रिटमय नबनोस् । ढलान होटलको छतमा बसेर हिमाल चियाउनुभन्दा काठको बार्दलीबाट दृश्यापन गर्दाको सुखानुभूति अर्कै हुन्छ नि हैन ?’

पाहुनालाई गाउँकै अर्गानिक खान्की चखाउन पाए, उनलाई लाग्छ । गाउँमा उत्पादित तरकारी, साग अनि गुन्द्रुकको अचार पाहुनालाई पस्काउँछन् । गाउँकै उत्पादनलाई प्राथकिमता दिनु हाम्रो ध्येय रहनेछ’, उनी थप्छन्, ‘गाउँमा कसैले तरकारी खेती, कसैले कुखुरापालन त कसैले भैँसीपालन गरे, ती सबै उत्पादनहरु हामीले यहाँ खपत गर्न सक्छौँ । यसले दोहोरो फाइदा हुन्छ, यहाँ पाहुनाले अर्गानिक स्वाद लिन पनि पाउने र गाउँका युवा व्यवसायीहरुलाई प्रोत्साहन पनि हुने ।’

एक महिनाको छोटो अन्तराल मै पाहुनाबाट पोजेटिभ फिडब्याक पाउँदा उनी उत्साहित देखिन्छन् । भर्खर त व्यवसायको बामे सार्दै छन्–उनी । उनले देखेका र बुनेका सपनाहरु पनि क्रपु डाँडाबाट देखिने प्यानारोमिक भ्यु जस्तै चौडा छन् । ससाना टिपिकल कजेटहरु बनाउने, पर्यटकहरुलाई भरपुर जानकारीसहितको ब्रोसर छपाउने र ठाउँठाउँ ऐतिहासिक, धार्मिक एवं प्राकृतिक महत्वसहितको बोर्ड बनाउने सपनाहरु उनले साँचेका छन् ।

काम गर्ने कालु, मकै खाने भालु भनेझैं भविष्यमा कतै अन्योलता आउने त हैन, उनी दुखेसो पोख्छन् । पन्ध्र वर्ष व्यवसाय गर्नेे सम्झौता भएपनि नेपालको अस्थिर राजनीतिले व्यवसाय कायापलट पारिदिन सक्छ, उनी थप्छन्, ‘सिंगै मानुङकोटको डाँडा टेन्डर हान्ने बतासजस्ता पार्टीका खोल ओढेर हिड्नेहरुबाट डर सधैँ हुन्छ । यहाँ कुनै संस्था वा व्यक्तिसँगको डर हैन, प्रवृत्तिको चिन्ता हो । यसलाई समयसँगै परिवर्तन गरिनु नितान्त आवश्यक देखिन्छ । यस ठाउँमा त स्थानीयलाई नै बढी प्राथमिकता दिइनुपर्छ ।’

अहिले होटलमा प्याकेजमा पाहुनाहरु बस्दै आएका छन् । साँझको खाना, सुतेको र बिहानको ब्रेकफास्टको पन्ध्र सय लिन्छन् । आउँदा र जाँदा पाहुनालाई तातो चियाले स्वागत र बिदाई गर्छन् । पोखराबाटै क्रपु डाँडासम्मै जिपमा आउन चहानेहरुलाई जिपको व्यवस्थासमेत उनी आफै गरिदिन्छन् । यहाँबाट क्व्होलासोथार वा छेउछाउका डाँडाहरु हाइकका लागि छुट्टै स्थानीय गाइडको व्यवस्थासमेत मिलाउछन् उनी ।

कुनै समय क्रपु डाँडाभर लालीगुँरास फुलिदिदाँ रमाइदिने कोही थिएनन् । हिउँ पर्दा उमंगको सास फेर्ने कोही हुन्थेनन् । न हिमश्रृंखलाको प्यानारोमिक दृश्यमा हराउने नै कोही हुन्थे । अहिले पर्यटकहरु प्रकृतिको सुन्दरतामा हराउँछन् । सँगै पर्यटकले प्रकृतिको सम्मान र आदर गर्न पनि सिक्नुपर्छ । फोहोर व्यवस्थापन एवं व्यवस्थित होटल सञ्चालन गर्दा नै दिगो पर्यटन सम्भव हुन्छ । पर्यायवरणको संरक्षणमा व्यवसायीहरुले मुख्य जोड दिनुपर्नेछ ।

पोखरा र आसपासका युवाहरु अब हिउको मज्जा लिन कालिन्चोक जानुपर्दैन । क्रपु डाँडा उक्लिए पुग्छ । जाडोयाम भर यो ठाउँ हिउमय बन्छ । क्रपुलाई ब्रान्ड बनाउन लागि परेका छन् उनी । आफ्नै गाउँठाउँ अनि डाँडा पाखामा केही गर्छु भनेर हौसिएका उनीजस्ता युवा विरलै भेटिन्छन् । शहरको झिलिमिली र मोजमस्तीमा रमाइरहने युवाको जमातबाट अलगिएर क्रपु डाँडामा भविष्य खोजिरहेका छन् उनी । आम मानिस हिड्ने राजमार्गभन्दा फरक आफ्नै गोरेटोमा हिँड्न रुचाउनेहरुको यात्रा कठीन त हुन्छ नै तर फरक अनि विशेष पनि । ढिलो चाँडो अवश्य गन्तव्य पुगिन्छ ।

हिमालझैं अटल र दृढ संकल्प बोकेर क्रपु डाँडाको पर्यटन प्रवद्धनमा लाग्ने सपना बुनेका हिमाल जीलाई अनगिन्ती शुभकामना ।

जय पर्यटन ।