TangTing Tourism https://tangtingtourism.com An Emerging Tourist Destination Sat, 15 Apr 2023 12:52:28 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.4.3 https://tangtingtourism.com/wp-content/uploads/2022/02/cropped-TangTing-Tourism-favicon-Blue-Rectangle-32x32.jpg TangTing Tourism https://tangtingtourism.com 32 32 तस्बिरमा कास्कीको रमणिय पर्यटकिय गाउँ ताङतिङ https://tangtingtourism.com/2023/04/15/2566/ https://tangtingtourism.com/2023/04/15/2566/#respond Sat, 15 Apr 2023 09:02:42 +0000 https://tangtingtourism.com/?p=2566 नबिनबाबु गुरुङ । सेतोपाटी

स्रोत- सेतोपाटी

नेपालमा घुमफिरका लागि लोकप्रिय गन्तव्य हो कास्कीको ताङतिङ गाउँ । पोखरा सहरबाट २३ किलोमिटरको दूरीमा रहेको ताङतिङ गाउँ अन्तरिक तथा बाह्य पर्यटनको लागि उत्कृष्ट गन्तव्य हो । तमु गुरूङ समुदायको बाहुल्यता रहेको यस गाउँ आफैंमा प्राकृतिक सुन्दरतासँगै एउटा ऐतिहासिक सम्पदा समेत हो । यहाँ गुरूङ समुदायको संस्कार संस्कृति सँगै पौराणिक इतिहासको समेत अध्ययन अवलोकन गर्न पाइन्छ ।

कूल २०० घरधुरी रहेको ताङतिङमा एकै किसिमको सामाजिक परम्परा, रितिरिवाज, रहनसहन अनि प्राकृतिक सुन्दरता हेर्न, देख्न पाइन्छ । अन्नपूर्ण हिमाल, लमजुङ हिमाल अनि सिक्लेस गाउँ आँखैअघि खुल्दा स्वर्गमै पुगेजस्तो अनुभव हुन्छ ।

गुरूङ समुदायले आफ्नो भाषामा ‘तोनी नास’ अर्थात् रमाइलो गाउँ भनेर सम्बोधन गर्ने यो गाउँ पुग्ने जो कोहीले वास्तवमै रमाइलोसँगै आनन्दको अनुभव गर्न पाउँछन् । पाहुनाहरूको न्यानो स्वागत गर्ने तोनी नासमा १४ घरमा होमस्टे छन् भने ८ वटा सुविधा सम्पन्न होटल/लज छन् । जहाँ न्यानो सत्कारसँगै स्थानीयको परिकारको स्वाद चाख्न पाइन्छ ।

गुरूङहरूको सभ्यता विकास गरेको क्होला सोंथर पुग्ने यो गाउँ लमजुङ र मनाङको समेत सिमाना जोडिएको ठाउँ हो । यहाँको क्रपु डाँडा पर्यटनमा उत्तिकै प्रख्यात ठाउँ हो ।

पछिल्लो समय पर्यटकीय गन्तव्य बनेको यो ताङतिङ गाउँ कस्तो छ त ? हेरौं तस्वीरहरू :

तस्बिर- नविनबाबु गुरुङ । सेतोपाटी
तस्बिर- नविनबाबु गुरुङ । सेतोपाटी
ताङतिङ गाउँ
तस्बिर- नविनबाबु गुरुङ । सेतोपाटी
तस्बिर- नविनबाबु गुरुङ । सेतोपाटी
]]>
https://tangtingtourism.com/2023/04/15/2566/feed/ 0
कास्कीको पर्यटकिय गाउँ ताङतिङमा तमू सञ्चारकर्मी संघ नेपालको पाँचौ महाधिबेशन सम्पन्न https://tangtingtourism.com/2023/04/09/2586/ https://tangtingtourism.com/2023/04/09/2586/#respond Sun, 09 Apr 2023 12:22:49 +0000 https://tangtingtourism.com/?p=2586 कास्की- कास्कीको पर्यटकिय गाउँ ताङतिङमा तमु (गुरुङ) संचारकर्मी संघ नेपालको पाँचौ महधिबेशन भब्य रुपमा सम्पन्न भएको छ । २०७९ साल चैत्र २४ देखी २६ गतेसम्म संचालन भएको महधिबेशनले चित्रबहादुर गुरुङको (लाला)को अध्यक्षतामा ११ सदस्यीय समिति सर्वसम्मत चयन गरिएको छ ।

गण्डकी प्रदेशका मानानीय कृषि, उर्जा तथा जलस्रोत मन्त्री ताङतिङ गाउँकै कुलपुत्र बेद बहादुर गुरुङ (श्याम)को प्रमुख अतिथी तथा ताङतिङकै चेली मादी गाउँ पालिकाको उपाध्यक्ष कल्पना गुरुङ बिशिष्ट अतिथी रहेको महाधिबेशनमा मन्त्री वेदबहादुर गुरुङ (श्याम)ले जातीय अस्तित्व, सामाजिक मुल्यमान्यता, पहिचान र अधिकारका लागि गुरुङ सञ्चारकर्मीको कलम सदैवमा चल्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

तीन दिनसम्म चलेको महाधिवेशनले १७ बुँदे घोषणापत्र जारी गरेको छ । तमु (गुरूङ) सञ्चारकर्मीबीच नियमित सम्पर्कमा रही व्यक्तिगत तथा व्यावसायिक सम्बन्ध अभिवृद्धिका लागि उपयुक्त वातावरण सिर्जना गर्ने, तमु सञ्चारकर्मीलाई मूलधारको सञ्चार माध्यममा अवसरको सहजिकरणमा जोड दिने, सञ्चार क्षेत्रमा आउने तमु समुदायका नयाँ पीँढिलाई प्रोत्साहित गरिने, राष्ट्रियस्तरका सञ्चार माध्यमहरूका समाचार कक्ष तथा कार्यक्रम उत्पादनमा समावेसी बनाउन दबाबमुलक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।

राष्ट्रिय सञ्चार माध्यमहरूमा संविधानमा व्यवस्था भएको समावेशी सम्बन्धी ऐन नियमहरूको अक्षरशः कार्यान्वयन गर्दै समावेशी ऐन नियमविपरीतका सबै व्यवस्था तत्काल संशोधन गर्न दबाब दिने, सबै भाषाभाषीको संरक्षण र सम्वर्द्धनका लागि आवश्यक नीति तथा कार्यक्रम तय गरी कार्यान्वयनमा ल्याउन तीनै तहका सरकारलाई दबाब दिने लगायतका कार्यक्रम गर्ने घोषणापत्रमा उल्लेख छ ।

यस्तै, आदिवासी जनजातिहरू समुदायका लागि जल, जंगल र जमिनसँग उनीहरूको परम्परागत धार्मिक, सांस्कृतिक, ऐतिहासिक र जनजीविकाको सम्बन्धलाई मध्यनजर गरी त्यस्ता क्षेत्रमा सञ्चालन गरिने कुनै पनि विकास निर्माणका काममा स्थानीय आदिवासी, जनजतिका अधिकारलाई उच्च प्राथमिकतामा राख्न र उनीहरूको सम्पूर्ण अधिकार सुनिश्चित गर्न सरकारसँग जोडदार माग गर्ने लगायतका कार्यक्रम घोषणापत्रमा उल्लेख छ । त्यस्तै घोषणापत्रमा तोनी नासा (ताङतिङ गाउँ) को कृषि, पर्यटन, घरेलु उद्योगलगायतका विभिन्न क्षेत्रको विकाससँगै स्थानीय गुरूङ समुदायको भाषा, धर्म, संस्कार, संस्कृति र परम्पराको संरक्षण र प्रवर्द्धनका लागि ठोस कार्यक्रम ल्याई तदारूकताका साथ कार्यान्वयनमा ल्याउन गण्डकी प्रदेश सरकार र संघीय सरकारसँग संघले जोडदार माग गरेको छ ।

कार्यक्रमलाई सफल बनाउन ताङतिङका आमा समुह, घरबास(ग्रिहबास) समिति, युवा क्लब, ताङतिङ समाज यूके, ताङतिङ समाज काठमाण्डौ, ताङतिङ दुधपोखरी समाज पोखरा, ताङतिङ परिवार हङकङ, ताङतिङ समाज जापान लगायत ताङतिङसँग सम्बन्धित संघसंस्थाहरुले चार लाख तेत्तिस हजार चार सय दुई रुपैयाँ आर्थिक सहयोगको साथसाथै कार्यक्रम अवधिभर गाउँलेहरुले अथिती सत्कारदेखी खानाबस्नको ब्यवस्था गरेका थिए ।

कार्यक्रममा मादी गाउँ पालिकाका वडा न २को अध्यक्ष भोज बहादुर गुरुङ, तमु (गुरुङ) संचारकर्मी संघ नेपालको पूर्व अध्यक्षहरु तथा सल्लाहकारहरु गणेशमान गुरुङ, दण्ड गुरुङ, अनिता गुरुङ, भिम गुरुङ र अन्य संघसंस्थाका प्रतिनिधिहरु उपस्थित हुनुहुन्थ्यो । कार्यक्रममा ताङतिङ समाज यूकेको तर्फबाट ताङतिङ समाज यूकेका सल्लाहकार जित गुरुङ कार्यक्रममा उपस्थित हुनुहुन्थ्यो ।

तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपालको नयाँ कार्यसमिती यसप्रकार रहेका छन-

१) अध्यक्ष : चित्र बहादुर गुरुङ(लाला) (स्याङ्जा)
२) उपाध्यक्ष: खिमा गुरुङ (कास्की)
३) महासचिव: चित्र बहादुर गुरुङ (चितवन)
४) सचिव: कुमार गुरुङ (रुपन्देही)
५) कोषाध्यक्ष: अनिता गुरुङ (गोर्खा)
६) सदस्य: केशव गुरुङ (गोर्खा)
७) सदस्य: किरण गुरुङ (कास्की)
८) सदस्य:दोलख गुरुङ (धादिङ)
९) सदस्य: ईन्द्र बहादुर गुरुङ (कास्की)
१०) सदस्य: केशव गुरुङ (काठमाडौ)
११) सदस्य: दान बहादुर गुरुङ (चितवन)

कास्कीको पर्यटकिय गाउँ ताङतिङमा सम्पन्न तमु (गुरुङ) संचारकर्मी संघ नेपालको पाँचौ महधिबेशनको घोषणापत्र

]]>
https://tangtingtourism.com/2023/04/09/2586/feed/ 0
जाडो महिनामा ‘घुमन्ते’ ले घुम्न सुझाएका प्रसिध्द ५ ठाउँहरु (तस्बिरसहित) https://tangtingtourism.com/2023/03/27/2530/ https://tangtingtourism.com/2023/03/27/2530/#respond Mon, 27 Mar 2023 13:45:22 +0000 https://tangtingtourism.com/?p=2530 कंचन राई । घुमन्ते

जाडो दिनानुदिन बढ्दैछ। यस्तो जाडोमा पनि घुम्न जानु? धेरैले यस्तै साेच्नुहुन्छ होला! तर जाडोमा घुम्नुको पनि बेग्लै मजा छ ।

जाडो महिना लागेसँगै हिमाली भेगमा हिमपात हुन्छ । आँखैअगाडि हिमाल हेर्दै हुर्किएकाले हुनसक्छ, हामी हिउँमा धेरै रमाउँछौँ। केही समययता हिउँ खेल्ने ठाउँ खोज्दै हिँड्ने ‘ट्रेन्ड’ पनि चलेको छ । विशेषगरी फूल्चोकी, दामन र हालैका वर्षहरूमा चन्द्रागिरी, कालिञ्चोक लगायत ठाउँ हिउँ खेल्न लोकप्रिय छन् । लोकप्रियता सँगसँगै यी ठाउँमा भीडभाड उत्तिकै हुन्छ । बाटैभरी जाम हुन्छ। त्यही हुलमुलका कारण सोचेजति रमाइलो पनि हुन्न ।

यही भीडभाडबाट उम्केर केही दिन समय निकाल्नसके सुन्दर दृश्यावलीसँगै निस्फिक्री हिउँ खेल्न पाइने गन्तव्य नेपालमा जताततै छन् । तिनैमध्ये हामी पुगेका वा हामीले थाहा पाएका ५ गन्तव्य यस्ता छन्ः

१. क्रपु डाँडा, ३०८५ मिटर, कास्की

पोखरेलीका लागि हिउँ खेल्न यो सम्भवत: सबैभन्दा नजिक र सहज गन्तव्य हो। पोखराबाट करिब तीन घण्टाको दुरीमा सुन्दर गुरूङ गाउँ ताङतिङ हुँदै क्रपु डाँडा पुग्न सकिन्छ। डाँडामा खाने-बस्ने व्यवस्था राम्रो छ। हिउँमा रमाउँदै अन्रपूर्ण श्रृंखला, लम्जुङ हिमाल, माछापुच्छ्रे हिमाल हेर्दै आनन्द लिन सकिन्छ। पोखराबाट नजिक भएकाले काठमाडौंबाट पनि यहाँ पुग्न सहज छ ।

२. सैलुङ्ग डाँडा, ३१४६ मिटर; दोलखा, रामेछाप

काठमाडौंबाट नजिक पर्ने सैलुङ डाँडा कालिञ्चोकको उत्तम विकल्प हो । झण्डै उही उचाइमा भएको सैलुङ डाँडालाई १०१ थुम्काको डाँडा पनि भनिन्छ । हिउँ पर्दा यी थुम्का रमणीय लाग्छन् । काठमाडौंबाट करिब ४-५ घण्टाको यात्रामा सैलुङ डाँडा पुग्न सकिन्छ। दोलखाको मुढे वा रामेछापको दोरम्बा हुँदै जाने दुई विकल्प छन् । थुम्काहरूमा सिधा घाम पर्ने भएकाले हिउँ भने यहाँ छिट्टै पग्लिन्छ ।

३. हल्जुरे, २४४५ मिटर, पर्वत

पैदलयात्रा नै नगरी गाडिबाटै पुग्न सकिने अर्को उत्कृष्ट गन्तव्य हो पर्वतको हल्जुरे डाँडा । अन्नपुर्ण श्रृंखला, धौलागिरी आँखै सामुन्ने देखिने यो डाँडा हिउँ पर्दा अझै रमणीय हुन्छ । पोखरादेखि यहाँसम्म करिब ४-५ घण्टाको गाडी यात्रामा पुग्न सकिन्छ । खासै चर्चामा नआएको ठाउँ भएकाले यहाँ अहिले केवल एउटा मात्र होटल छ तर छेउछाउका घरहरूमा बासको जोहो गर्न सकिन्छ ।

४. धाप, ओखलढुंगा र पत्ताले, सोलुखुम्बु

सोलुखुम्बु जिल्ला र ओखलढुंगाको सीमानामा पर्ने दुई बजार पत्ताले र धाप हिउँ खेल्न जानेहरूका लागि अर्को सहज गन्तव्य हो । वि.पि. राजमार्ग हुँदै खुर्कोटबाट पहाडी लोकमार्ग पछ्याएर धाप करिब ६ घण्टाको सडक यात्रामा पुग्न सकिन्छ । सर्वोच्च शिखर सगरमाथा सजिलै हेर्न पाउनु यी दुई स्थानको अर्को विशेषता हो । चल्तीको बाटो भएकाले खाने-बस्ने व्यवस्था पनि यहाँ राम्रो छ ।

५. रामारोशन, अछाम (२५००-३५०० मिटर)

नेपालको घुम्नै पर्ने ठाउँमा मैले कहिल्यै नछुटाउने नाम हो रामारोशन । कारण हरेक मौसममा यहाँ घुम्न अर्कै आनन्द छ । हिउँ परेको बेला रामारोशन छुट्टै देखिन्छ। वरपरका डाँडा सेताम्मे हिउँले हिमालझैँ देखिन्छन् । ताल वरपर र यहाँका मैदानमा हिउँकै सेतो गलैँचा बिच्छ्याएजस्तो लाग्छ । उत्तरी युरोपको कुनै सुन्दर निकुञ्जझैँ लाग्छन् यहाँका जंगल । यहाँ पनि घाम सिधा पर्ने भएकाले हिउँ धेरै समय टिक्दैन । बाक्लो हिउँ खेल्ने इच्छा भए आधा-एक घण्टा माथिका डाँडातिर उक्लिन सकिन्छ । त्यसो गर्दा हिउँसँगै पूरै रामारोशन क्षेत्रको मनोरम दृश्य पनि हेर्न पाइन्छ । खाने-बस्ने सुविधा उपलब्ध छ। स्थानियहरू फरासिला छन् ।

माथिका यी सबै गन्तव्य सडक यात्रामै अथवा बढीमा आधा घण्टाको पैदल यात्रामा पुग्न सकिन्छ। २-३ दिन समय भएकाहरूका लागि १-२ दिनको छोटो पदयात्रामा पुगिने विकल्प प्रशस्त छन्। खुमै डाँडा, कोर्चन डाँडा, कोखे डाँडा, पाँच पोखरी, कोरी, पिके, दूधकुण्ड लगायतका स्थान अलिकति समय र पदयात्रा रूचाउनेका लागि उत्कृष्ट र सजिला विकल्प हुन् ।

स्रोत- सेतोपाटी

]]>
https://tangtingtourism.com/2023/03/27/2530/feed/ 0
क्रपुडाँडामा पर्यटन व्यवसाय गर्न हौसिएका युवाहरु https://tangtingtourism.com/2022/02/01/2000/ https://tangtingtourism.com/2022/02/01/2000/#respond Tue, 01 Feb 2022 22:32:43 +0000 https://tangtingtourism.com/?p=2000 दिवस गुरुङ, ढोरपाटन न्युज ।

स्रोत- ढोरपाटन न्युज

आम मानिस हिँड्ने राजमार्गभन्दा फरक आफ्नै गोरेटोमा हिँड्न रुचाउनेहरुको यात्रा कठीन त हुन्छ नै तर फरक अनि विशेष पनि ! यही यात्रामा छन्–हिमाल गुरुङ ।

लामो समय यता आन्तरिक तथा बाह्य पर्यटकहरुको रोजाइमा परेको सुन्दर गन्तव्य हो ताङतिङ गाउँ । आँखै अगाडि देखिने लोभलाग्दा हिमश्रृंखलाहरु, चिटिक्क परेको गुरुङ बस्ती अनि होमस्टेको अर्गानिक स्वाद र त्यहाँको आतिथ्यता, यहीँ चाख्न पर्यटकहरु फर्कीफर्की यहाँ आउँछन् ।

जाडो याममा गाउँको शिरानक्रपु डाँडामा हिउँ हाल्यो । अनि हिउ खेल्न पर्यटकको लर्को लागेपछि ताङतिङमा पर्यटकहरु खचाखच छन् अहिले । भ्याइनभ्याइ छन् होटल अनि होमस्टेलाई । पहिलो रात होमस्टेमा बस्छन्, अनि अर्कोदिन पर्यटकहरुक्रपु डाँडा उक्लिन्छन् । धीतमरुन्जेल हिउ खेल्छन् अनि शहर फर्कन्छन् ।

यता युवाहरुमाझ क्रपु डाँडा चर्चामा आएको त्यति लामो समय भएको छैन । पुग नपुग एक महिना मात्र । क्रपु डाँडामा दुई होटलहरु सञ्चालनमाआए । एकका सञ्चालक हुन्– हिमाल गुरुङ । क्रपु डाँडामा हिउँ हालेपछि उनले टिकटकमा लोभलाग्दा भिडियो र फोटाहरु राखे । छिनभरमै ती भिडियोहरु भाइरल भए । हजारौंले हेरे, सयौंले सेयर गरे । पोखरा वरपरलगायत विभिन्न ठाउँका मानिसहरुले उनीसँग यस ठाउँबारे जानकारी बटुल्न थाले । अनि ओइरिन थाले पर्यटकहरु । थामी नसक्नु भीड भएपछि धेरै गुप्रलाई त ताङतिङमै होल्ड गर्नुपर्ने अवस्थासमेत सिर्जना भयो ।

हिमाल गुरुङ । उमेरले भर्खर २६ लागे उनी । घर उनको ताङतिङ गाउँ । गाउँले परिवेशमै उनको बाल्यकाल बित्यो । ६ कक्षासम्म गाउँमै पढेका उनले एसएलसी पोखराबाट उत्तीर्ण गरे । देहारदुनबाट प्लस टु साइन्स पढे । इन्फोमेटिक्समा बिआइटी पढ्दै गरेका उनलाई एकाएक क्रपु डाँडाले लोभ्यायो । शहर छाडेर गाउँ फर्के । अनि उक्ले गाउँमाथिको क्रपु डाँडामा । त्यसपछि सुरु भयो उनको व्यावसायिक यात्रा ।

क्रपु डाँडा । गुरुङ भाषामा ‘क्र’ को अर्थ टाउको र ‘पु’ को अर्थ हो–रक्सी बनाउँदा रक्सी जम्मा गर्ने माटाको भाँडा । त्यसैले यसको अर्थ रहन जान्छ, गाउँको सिरानमा रहेको गोलो आकार परेको सम्म भूभाग । पहिले पहिले गाउँलेहरु गाईभैसी चराउन यहाँ आउथे । घाँसदाउरा गरेर साँझमात्र घर फर्कन्थे । यहाँबाट करिब १० घण्टामा पर्छ, गुरुङ जातिको उद्गम स्थल क्व्होलासोथार । त्यहाँ पुगेर आएकाहरु रात पर्दा यहीँ धर्मशालामा बस्थे । रात काट्थे । अनि गाउँ फर्कन्थे ।

बाल्यकालदेखि नै उनमा गाउँघरको प्रगाढ प्रेम थियो । शिक्षाका लगि शहर पसेपनि गाउँमै फर्केर भविष्य खोज्नुपर्छ भन्ने सोच राख्नेमध्ये एक थिए । सानो छँदा गाउँ जोड्ने सडक थिएन, मादी तरेर अनेक दुःख खेपेर शहरबाट गाउँ आउँदाको सकस उस्तै थियो, उनी बिगतमा फर्कन्छन्, ‘त्यसैले उतिबेला सपना बुन्थे, पढेर इन्जिनियर बन्छुअनि गाउँसम्म मोटर बाटो डिजाइन गर्छु । पछिल्लो समय बिआइटी पढ्दै गर्दा पनि प्रविधिसँग पर्यटनलाई जोडेर सिंगो ताङतिङ गाउँको पर्यटन उकास्न सक्नेमा दृढ संकल्प राखेको छु ।’

गुरुङको छोरो । हट्टाकट्टा ज्यान । बा पनि इन्डियन लाहुरे । तर, पनि लाहुरे बनेर अर्काको देशमा गुलामी गर्ने रहर उनमा कहिल्यै जागेन । न त घरबाटै दबाब आयो उनलाई । आमा पनि शिक्षिका । बा पनि पढेलेखेका । त्यसैले दुवैले छोरालाई आफ्नो हरेक निर्णय लिने जिम्मा उनैलाई सुम्पिदिए । जे गर्छु, आफ्नै देशमा गर्छु । अझ आफ्नै गाउँमा, उनलाई लाग्थ्यो । क्रपु डाँडाबारे धेरै सुनेपनि केही वर्षअघि मात्र साथीभाइसँग क्रपु डाँडा उक्लेका थिए । पहिलोपल्ट त्यहाँ पुग्दा नै उनी लोभिएका थिए, प्यानारोमिक हिमश्रृंखलाको दृश्य, ढकमक्क फुलेका गुराँस अनि झिलिमिली देखिएको पोखरा शहर नियाल्दा ।

मादी गाउँपालिकाले क्रपु डाँडाको प्रवद्धनका लागि केही वर्ष अघि त्यहाँ टि हाउस र होटलहरु खोल्नका लागि टेन्डर आह्वान गर्‍यो । त्यतिबेला जंगलैजंगल परेको ठाउँ । लगानी गर्न सबै हच्किन्थे । त्यतिबेला न सडकले जोडेको थियो न पानीको सुविधा नै, गुरुङ भन्छन्, ‘क्रपुको वास्तविक महत्व थाहा पाउन ढिला गर्नुहुँदैन, मलाई त्यतिबेलै लागेको थियो । मैले टेन्डर हालेँ । पर्‍यो पनि । त्यतिबेला सही निर्णय लिएकोमा अहिले खुसी नै लाग्छ ।’

पछिल्लो समय मादी गाउँपालिकामा रहेका कपुचे ताल, कोरीलगायत विभिन्न नयाँ गन्तव्यहरु पर्यटकहरुको रोजाइमा परिसकेका थिए । विस्तारै स्थानीय सरकार र यहाँका प्रतिनिधिहरुको पहलमा क्रपु डाँडा हुँदै क्व्होलासोथार जोड्ने सडक विस्तारका लागि बजेट विनियोजना भयो । सडक सञ्जालले जोडिएसँगै धेरै सहज भयो । डाँडालाई सम्याइयो । एक घण्टा माथि मुलबाट खानेपानी यहाँसम्म ल्याइयो । अनि सुरु भयो क्रपु डाँडाको नयाँ स्वरुप ।

सोचेझैं सधैं कहाँ हुन्छ र ? बुनेका योजनाहरु कोरोना महामारीले बिथोलिदियो । पहिलो र दोस्रो कोरोना लहर बाधकको पहिलो कारण थियो भने झन्झटिला कानुनी प्रक्रिया दोस्रो थियो । १५ वर्षसम्म यस ठाउँमा व्यवसायका लागि सम्झौतासमेत भयो । दुई वर्ष राजस्व छुट पनि गरिदिने भयो । उनी ढुक्क भए अनि सुरु गरे संरचना बनाउन ।

व्यवसाय एक्लैले गर्न कठिनाइ हुन्छ नै । बुबा र आमाको आफ्नै व्यस्तता । भाइबहिनी अझै पढ्दै छन् । उनलाई व्यवसायमा साथ दिन आइपुगे उनका सोल्टी अम्रिस गुरुङ । दुवैको संयुक्त लगानीमा किचन र डाइनिड बनाए, त्यो पनि स्थानीय स्रोत साधनहरुको प्रयोग गरेर । आकर्षक काठको छाप्रोसहितको आकर्षक टेन्टहरु बसाले । नयाँ शौचालयहरु बनाए । बीचैमा रहेको पोखरीको मर्मत संहार पनि गरे । अनि पर्यटक गुहारे ।

अहिलको सबैभन्दा राम्रो प्रचारको माध्यम हो सामाजिक सञ्चाल । उनले पनि यही अस्त्र प्रयोग गरे । ‘द मिडनाइट क्याम्परस क्रपु #themidnightcampers_’ नामक टिकटक एकाउन्टका भिडियोहरु रातारात भाइरल भए । अनि ओइरिन थाले पर्यटकहरु । कति बाइकमा त कति हिँडेरै । कतिलाई त तल ताङतिङ गाउँमै होल्ड गरेर राख्नु पर्ने अवस्था आयो, उत्साहित मुद्रामा उनले भने, ‘दिनमै सयौं जना आउन तारान्तर फोन आउँथ्यो तर हाम्रो क्षमता अहिले २० देखि २५ जनाको मात्र छ । बढी भएका पाहुनाहरुलाई अर्को होटलमा पनि रिफर गरिदिन्छौं ।

क्वान्टिटीभन्दा पनि क्वालिटीमा हामीले जोड दिएका छौँ । पाहुनाको पूर्ण सन्तुष्टि नै हाम्रो एकमात्र प्राथमिकता रहनेछ ।’

मादी गाउँपालिकाले यहाँ निमार्ण हुने संरचनाहरुको आफ्नै मापदण्डहरु निर्धारणा गरेका छन्, उनी थप्छन्, ‘सकेसम्म सबै संरचनाहरुले गाउँले परिवेश झल्काउने हुनुपर्छ । अनि हामीले त्यसैले अनुसरण गरेर ग्रामीण छनक पस्काउने प्रयास गर्दै छौं । डाँडा कंक्रिटमय नबनोस् । ढलान होटलको छतमा बसेर हिमाल चियाउनुभन्दा काठको बार्दलीबाट दृश्यापन गर्दाको सुखानुभूति अर्कै हुन्छ नि हैन ?’

पाहुनालाई गाउँकै अर्गानिक खान्की चखाउन पाए, उनलाई लाग्छ । गाउँमा उत्पादित तरकारी, साग अनि गुन्द्रुकको अचार पाहुनालाई पस्काउँछन् । गाउँकै उत्पादनलाई प्राथकिमता दिनु हाम्रो ध्येय रहनेछ’, उनी थप्छन्, ‘गाउँमा कसैले तरकारी खेती, कसैले कुखुरापालन त कसैले भैँसीपालन गरे, ती सबै उत्पादनहरु हामीले यहाँ खपत गर्न सक्छौँ । यसले दोहोरो फाइदा हुन्छ, यहाँ पाहुनाले अर्गानिक स्वाद लिन पनि पाउने र गाउँका युवा व्यवसायीहरुलाई प्रोत्साहन पनि हुने ।’

एक महिनाको छोटो अन्तराल मै पाहुनाबाट पोजेटिभ फिडब्याक पाउँदा उनी उत्साहित देखिन्छन् । भर्खर त व्यवसायको बामे सार्दै छन्–उनी । उनले देखेका र बुनेका सपनाहरु पनि क्रपु डाँडाबाट देखिने प्यानारोमिक भ्यु जस्तै चौडा छन् । ससाना टिपिकल कजेटहरु बनाउने, पर्यटकहरुलाई भरपुर जानकारीसहितको ब्रोसर छपाउने र ठाउँठाउँ ऐतिहासिक, धार्मिक एवं प्राकृतिक महत्वसहितको बोर्ड बनाउने सपनाहरु उनले साँचेका छन् ।

काम गर्ने कालु, मकै खाने भालु भनेझैं भविष्यमा कतै अन्योलता आउने त हैन, उनी दुखेसो पोख्छन् । पन्ध्र वर्ष व्यवसाय गर्नेे सम्झौता भएपनि नेपालको अस्थिर राजनीतिले व्यवसाय कायापलट पारिदिन सक्छ, उनी थप्छन्, ‘सिंगै मानुङकोटको डाँडा टेन्डर हान्ने बतासजस्ता पार्टीका खोल ओढेर हिड्नेहरुबाट डर सधैँ हुन्छ । यहाँ कुनै संस्था वा व्यक्तिसँगको डर हैन, प्रवृत्तिको चिन्ता हो । यसलाई समयसँगै परिवर्तन गरिनु नितान्त आवश्यक देखिन्छ । यस ठाउँमा त स्थानीयलाई नै बढी प्राथमिकता दिइनुपर्छ ।’

अहिले होटलमा प्याकेजमा पाहुनाहरु बस्दै आएका छन् । साँझको खाना, सुतेको र बिहानको ब्रेकफास्टको पन्ध्र सय लिन्छन् । आउँदा र जाँदा पाहुनालाई तातो चियाले स्वागत र बिदाई गर्छन् । पोखराबाटै क्रपु डाँडासम्मै जिपमा आउन चहानेहरुलाई जिपको व्यवस्थासमेत उनी आफै गरिदिन्छन् । यहाँबाट क्व्होलासोथार वा छेउछाउका डाँडाहरु हाइकका लागि छुट्टै स्थानीय गाइडको व्यवस्थासमेत मिलाउछन् उनी ।

कुनै समय क्रपु डाँडाभर लालीगुँरास फुलिदिदाँ रमाइदिने कोही थिएनन् । हिउँ पर्दा उमंगको सास फेर्ने कोही हुन्थेनन् । न हिमश्रृंखलाको प्यानारोमिक दृश्यमा हराउने नै कोही हुन्थे । अहिले पर्यटकहरु प्रकृतिको सुन्दरतामा हराउँछन् । सँगै पर्यटकले प्रकृतिको सम्मान र आदर गर्न पनि सिक्नुपर्छ । फोहोर व्यवस्थापन एवं व्यवस्थित होटल सञ्चालन गर्दा नै दिगो पर्यटन सम्भव हुन्छ । पर्यायवरणको संरक्षणमा व्यवसायीहरुले मुख्य जोड दिनुपर्नेछ ।

पोखरा र आसपासका युवाहरु अब हिउको मज्जा लिन कालिन्चोक जानुपर्दैन । क्रपु डाँडा उक्लिए पुग्छ । जाडोयाम भर यो ठाउँ हिउमय बन्छ । क्रपुलाई ब्रान्ड बनाउन लागि परेका छन् उनी । आफ्नै गाउँठाउँ अनि डाँडा पाखामा केही गर्छु भनेर हौसिएका उनीजस्ता युवा विरलै भेटिन्छन् । शहरको झिलिमिली र मोजमस्तीमा रमाइरहने युवाको जमातबाट अलगिएर क्रपु डाँडामा भविष्य खोजिरहेका छन् उनी । आम मानिस हिड्ने राजमार्गभन्दा फरक आफ्नै गोरेटोमा हिँड्न रुचाउनेहरुको यात्रा कठीन त हुन्छ नै तर फरक अनि विशेष पनि । ढिलो चाँडो अवश्य गन्तव्य पुगिन्छ ।

हिमालझैं अटल र दृढ संकल्प बोकेर क्रपु डाँडाको पर्यटन प्रवद्धनमा लाग्ने सपना बुनेका हिमाल जीलाई अनगिन्ती शुभकामना ।

जय पर्यटन ।

]]>
https://tangtingtourism.com/2022/02/01/2000/feed/ 0
हिउँ खेल्न क्रपु डाँडा https://tangtingtourism.com/2022/01/28/513/ https://tangtingtourism.com/2022/01/28/513/#respond Fri, 28 Jan 2022 22:07:45 +0000 https://tangtingtourism.com/?p=513 दीपक परियार ।

इकान्तिपुर ।

पोखरा — पछिल्लोपल्ट चर्चा कमाएको कास्कीको मादी गाउँपालिका–२ ताङतिङ गाउँ पुग्न पोखरा माटेपानीकी शर्मिला गुरुङलाई पहिल्यैदेखि रहर थियो । यसपल्ट पुसमा भएको बाक्लो हिमपातले उनलाई ताङतिङ मात्रै पुर्‍याएन, गाउँको शिर क्रपु डाँडासम्म पुर्‍यायो । उनी साथी लिएर हिउँ खेल्न क्रपु डाँडा पुगिन् ।

समुद्री सतहबाट ३ हजार १ सय मिटर उचाइमा रहेको क्रपु डाँडाबारे उनले साथीबाटै सुनेकी थिइन् । टिकटकमा समेत ‘भाइरल’ भएको देखेपछि उनले पढाउने विद्यालयका शिक्षिकाको समूह बिहीबार क्रपु डाँडा पुग्यो । बिहीबार अबेर पुगेका उनीहरु शुक्रबार हिउँ खेलेर पोखरा फर्किए । ‘पहिलो हामीले कालिञ्चोक जाने प्लान बनाएका थियौं,’ उनले भनिन्, ‘त्यहाँभन्दा यति नजिकै राम्रो ठाउँ छ, हिउँ पनि खेल्न पाइन्छ भनेर यहीँ आयौं ।’ उनले हिउँ छोएको यो पहिलो अनुभव हो । क्रपु डाँडा टिकटकमा देखेभन्दा रमाइलो पाइन् । ‘कस्तो होला, कस्तो होला, सोचेजस्तो नहुने हो कि भन्ने थियो,’ उनले भनिन्, ‘यहाँ आइसकेपछि सबै कुरा बिर्सिएर रमाइलो गर्‍यौं ।’ ८ जनाको समूहमा ४ जनाले पहिलोपल्ट हिउँ छोएका थिए ।

माटेपानीकै सुष्मा गुरुङ पदयात्रा गर्न रुचाउँछिन् । यसअघि घोरेपानी–पुनहिल पुगेकी उनलाई क्रपु डाँडाले उत्तिकै लोभ्यायो । रातमा टहटह जुन र जुनको उज्यालोमा टल्किएका हिमाल हेरेर उनी रोमाञ्चित भइन् । ‘एउटा छुट्टै खालको तरंग पैदा भयो,’ उनले भनिन्, ‘हामी घुम्नलाई विदेश जान्छौं तर पहिलो नेपाल नै घुम्नुपर्छ ।’ उनले पोखरा फर्किएर आफ्नो इन्स्टाग्राम, टिकटकमार्फत क्रपु डाँडाको प्रबर्द्धन गर्ने बताइन् ।

तस्बिर- दीपक परियार, कान्तिपुर

पर्यटकीय गाउँ ताङतिङ पुग्न पोखराबाट बसमा साढे २ घण्टा, जिपमा २ घण्टा र मोटरसाइकलमा साढे १ घण्टा लाग्छ । गुरुङ बस्तीमा १४ घरमा होमस्टे छन् । सात होटल छन् । केही वर्षयता आन्तरिक पर्यटकको आगमनमा वृद्धि भएपछि पोखराबाट गाउँ फर्किएर स्थानीय युवाले होटलमा लगानी गरेका छन् । ताङतिङको उत्तरपूर्व शिरानमा छ क्रपु डाँडा । डाँडाबाट अन्नपूर्ण र मनास्लु हिमशृंखला, माछापुच्छ्रे लगायत दर्जनौं हिमाल छर्लंग देखिन्छ । हिउँमाथि उभिएर आँखैअघि हिमाल देख्न पाउनु पर्यटकका लागि मनमोहक हुन्छ । बेलाबेलामा हिमपहिरो खसेको समेत देख्न सकिन्छ । पोखरा उपत्यका, लमजुङ, तनहुँ लगायत स्थानको दृश्यावलोकन क्रपु डाँडाबाट गर्न सकिन्छ ।

यसअघि ताङतिङ पुग्ने पर्यटक फाट्टफुट्ट क्रपु डाँडा पुग्थे । गत वर्ष कच्ची मोटरबाटो पुगेपछि पोखरा लगायत सहरबाट जिप र मोटरसाइकलमा पर्यटक पुग्न थाले । त्यतिबेला टेन्टमा बस्नुपर्ने बाध्यता थियो । पर्यटक बढ्न थालेपछि भने ताङतिङका स्थानीय युवाले क्रपु डाँडामा तीनवटा अस्थायी होटल तथा रेस्टुरेन्ट खोलेका छन् । दुई साताअघिदेखि सञ्चालनमा आएका ती होटलमा ४० जनासम्म बस्न मिल्छ । गाउँपालिकाले पाहुना राख्न धर्मशाला समेत बनाएको छ ।

तस्बिर- दीपक परियार, कान्तिपुर

ताङतिङ सामुदायिक होमस्टेमा बेलुकाको खाजा, खाना, विहानको खाजा र बसेको खर्चवापत एक हजार रुपैयाँ तिर्नुपर्छ । क्रपु डाँडामा उक्त प्याकेजको शुल्क १ हजार ५ सय छ । पोखराबाट फर्किएर क्रपु डाँडामा होटल चलाएका स्थानीय युवा हिमाल गुरुङ हिउँ खेल्न पर्यटक पुग्न थालेपछि हर्षित छन् । होटल सञ्चालनमा आएदेखि नै उनले सामाजिक सञ्जालमा क्रपु डाँडाको प्रवद्र्धन गरिरहेका छन् । उनले टिकटकमा राखेका भिडियो यतिबेला भाइरल छन् । ‘धेरै ठाउँ घुमफिर गर्दा व्यवसाय गर्न सकिने रहेछ भन्ने लाग्यो,’ उनले भने, ‘आफ्नै ठाउँमा केही गर्नुपर्छ, पर्यटकलाई सुविधा पनि दिनुपर्छ भनेर यहीँ फर्किएँ ।’ उनी ताङतिङ युवा क्लबका अध्यक्ष पनि हुन् ।

कोभिडको महामारीकै बीच गण्डकी प्रदेशका धेरै गाउँ पर्यटकका लागि बन्द हुँदा ताङतिङ खुल्लै थियो । गाउँपालिकाले निषेध गरेको बाहेक अन्य समयमा ताङतिङका स्थानीयले आन्तरिक पर्यटकलाई स्वागत गरे । ताङतिङमा रहेको हिमालय मिलन माविका प्रधानाध्यापक एवं सामाजिक अगुवा ओमप्रकाश गुरुङका अनुसार अहिले पनि बिदाको दिनमा एकै दिन एक सयदेखि डेढसयसम्म पर्यटक गाउँमा भित्रिन्छन् । अन्य दिन ४०–५० जना पर्यटक ताङतिङ पुग्छन् । एकै दिन ४ सयजनासम्म पाहुनाको व्यवस्थापन ताङतिङले गरेको छ । ताङतिङ पुग्ने पर्यटकलाई क्रपु डाँडासम्म पुर्‍याउन सके बसाइँ लम्ब्याउन सकिने उनी बताउँछन् । ‘पहिलो दिन ताङतिङ आएर बस्ने, भोलिपल्ट दिनभर गाउँ घुमेर बेलुका क्रपु बस्न पुग्ने गरी पर्यटक बोलाउन सकिन्छ,’ उनले भने, ‘त्यसो गर्न सके सामुदायिक होमस्टे र स्थानीय होटल व्यवसायी दुवै लाभान्वित हुन्छन् ।’ पोखराबाट हिउँ खेल्ने र हिमशृंखलाको अवलोकन गर्ने यत्तिको नजिकको गन्तव्य अन्त नभएको उनी थप्छन् ।

तस्बिर- दीपक परियार, कान्तिपुर

शनिबार क्रपु डाँडाको अवलोकनमा गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) गण्डकीको टोली क्रपु डाँडा पुगेको थियो । भिटोफ गण्डकीका अध्यक्ष उदय सुवेदीले पोखरा, ताङतिङ र क्रपु डाँडा समेटेर पर्यटकमा नयाँ गन्तव्य थप गर्न सकिने बताए । उनले ३ रात ४ दिन वा ४ रात ५ दिनको भ्रमण प्याकेज बनाउन भिटोफले तयारी गर्ने सुनाए । ‘पहिलोदिन पोखराबाट ताङतिङ आएर बस्ने, दोस्रो दिन गाउँको संस्कृति, स्थानीय जनजीवनको अवलोकन गर्ने,’ उनले भने, ‘त्यस दिन बेलुका पदयात्रा गर्दै क्रपु डाँडा उक्लिएर बास बस्ने, तेस्रो दिन ३ हजार ३ सय मिटर अग्लो चोंरो डाँडा पुगेर बास बस्ने । चौंथो दिन ताङतिङ फर्किने र पाँचौं दिन पोखरा फर्किने गरी प्याकेज बनाउन सकिन्छ ।’ क्रपु डाँडालाई हिउँ खेल्ने स्थलको रुपमा प्रवद्र्धन गर्न सके पोखरा नजिकका अन्य सहरबाट पनि पर्यटकको आगमन बढ्ने उनी बताउँछन् । भन्छन्, ‘हिउँ नै नछोएकाहरुका लागि क्रपु डाँडा उत्तम गन्तव्य हो ।’

तस्बिर- दीपक परियार, कान्तिपुर

स्रोत- इकान्तिपुर

]]>
https://tangtingtourism.com/2022/01/28/513/feed/ 0
पर्यटनले फेरियो ताङतिङको मुहार https://tangtingtourism.com/2022/01/28/1923/ https://tangtingtourism.com/2022/01/28/1923/#respond Fri, 28 Jan 2022 21:35:48 +0000 https://tangtingtourism.com/?p=1923 स्रोत- अनलाइन खबर

२१ पुस, पोखरा । मादी-२ ताङतिङकी रोशमाया गुरुङ केही वर्षअघिसम्म घरायसी काम गरेर दिन कटाउँथिन् । पारीपटि्ट डाँडामा रहेको सिकलेसले धमाधम आन्तरिक तथा बाहृय पर्यटक भित्र्याएर प्रगति गर्दा ताङतिङ शून्य थियो । खुलेका केही होमस्टे पनि नाम मात्रका थिए । त्यसैले पर्यटकहरु त्यही बाटो भएर सिकलेससम्म पुग्थे, तर ताङतिङमा बस्न खोज्दैनथे ।

रोशमायाका श्रीमान दिलिप गाउँकै सरकारी स्कुलमा अस्थायी शिक्षक थिए । उनकै कमाइले परिवार धान्नुपर्ने बाध्यता थियो । करिब ६ वर्षअघि पर्यटकलाई ‘खाजा खुवाउने’ होटल सुरु गरेपछि भने रोशमाया दैनिकी मात्र होइन, आर्थिक अवस्था पनि फेरिएको छ ।

सानो होटललाई बढाएर अहिले २० कोठे सुविधायुक्त गेस्ट हाउस बनाएकी छिन् उनले । ताङतिङ गेस्ट हाउसमा गच्छेअनुसार बस्न मिल्ने कोठाहरु छन् । ‘पहिले त सानो होटलमात्रै थियो । पछि गेस्ट हाउस बनायौं । पाहुना बढ्दै गए । होटलका कोठा बढाउँदै लग्यौं,’ रोशमाया खुशी व्यक्त गर्छिन् । होटल राम्रोसँग चल्न थालेपछि उनका श्रीमान दिलिपले अहिले अस्थायी शिक्षकबाट पनि विदा लिइसकेका छन् ।

गाउँमा करिब एक वर्ष पहिले सडक पुग्यो । बाटो पुगेपछि त पर्यटकको संख्या पनि बढेको छ । ‘पोखराका पर्यटन व्यवसायीले हामीसँग सम्पर्क राख्छन् । त्यहीअनुसार हामीले व्यवस्था गर्छौं,’ रोशमाया भन्छिन्, ‘पाहुनाहरु एक रातमात्र बस्छन् । उनीहरुसँग ५ सयदेखि ७ सय रुपैयाँसम्म लिने गरेका छौं ।’

घरमै होटल खोलेर वार्षिक ६/७ लाख रुपैयाँ आम्दानी गरिरहेकी रोशमायाले गेस्ट हाउसमा नेपालीभन्दा विदेशी पर्यटक धेरै आउने गरेको सुनाइन् । गाउँमा उनको जस्तै पाँच वटा होटल छन् । पर्यटकको संख्या बढ्दै गएकाले नयाँ होटल तथा गेस्ट हाउस पनि खुल्ने तर्खरमा रहेको उनी सुनाउँछिन् ।

होमस्टेको मुख्य आकर्षण भने ‘नारेपा’ हो । नारेपाको अर्थ कोदोको रक्सी हुन्छ । होमस्टेमा आएका पाहुनालाई दुई गिलास नारेपा सित्तैमा दिइन्छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप)मा पर्ने मादी-२ ताङतिङबाट अन्नपूर्ण हिमाल, लमजुङ हिमाल, बोजुपुंगी लामा महायन बौद्ध गुम्बा, बोनधर्म घर, शिवालयलगायत दृश्यावलोकन गर्न सकिन्छ ।

पोखरा काहुँखोला कसेरी, विजयपुर खोला, छाचोक हुँदै मादी खोला उक्लँदै गुरुङ समुदायको बाहुल्यता रहेको ताङतिङ पुग्न सकिन्छ । त्यहाँ महिलाहरुले होमस्टे चलाएका छन्, जसको संख्या १४ पुगेको छ ।

केही समयअघि हामेस्टेमा सुनसान भएपनि अहिले गाउँमै बाटो पुगेपछि धेरै सुधार भएको ताङतिङ होमस्टेकी सचिव पूर्णसुब्बा गुरुङ बताउँछिन् । सिजनमा पोखरा आसपासका क्षेत्रबाट २/३ जना होमस्टेमा बास बस्न पुग्छन् । ‘हामीले रोलक्रमको व्यवस्था गरेका छौं । त्यहीअनुसार यहाँ आएका पाहुनालाई हामेस्टेको अनुभव दिने गरेका छौं,’ पूर्णसुब्बाले भनिन् ।

होमस्टेमा पुग्ने प्राय नेपाली हुन्छन् । सञ्चालकले पाहुनाका लागि होमस्टे प्याकेज सुविधा दिँदै आएका छन् । साँझ मासु खाना, बिहानको खाजा र सादा खानाको जम्मा १ हजार रुपैयाँ लिने गरिएको छ ।

होमस्टेमा बाहृय खानालाई सकेसम्म प्रतिबन्ध गरिएको पूर्णसुब्बा बताउँछिन् । ‘हामेस्टेमा चाहिने आलु, साग, पिँडालु, भुइँस्याउ, चामल सबै गाउँमै महिला समूहबाट सामूहिक उत्पादन गर्छौं,’ उनी भन्छिन्, ‘नपुगे पनि गाउँलेसँगै किन्छौं । बाहिरबाट सकेसम्म नल्याउने नीति नै छ ।’

होमस्टेको मुख्य आकर्षण भने ‘नारेपा’ हो । नारेपाको अर्थ कोदोको रक्सी हुन्छ । होमस्टेमा आएका पाहुनालाई दुई गिलास नारेपा सित्तैमा दिइन्छ । त्यसभन्दा बढी लिन चाहेमा प्रतिगिलास ३५ रुपैयाँ तिर्नुपर्छ ।

ताङतिङ पुग्न मादी तरेर जानुपर्छ । मादीमा पुल नभइसकेकाले बर्खाको समयमा पाहुना नआउने गुरुङले बताइन् । ‘बाटो बन्यो तर, पुल बनेन । पुल नबन्दा ५/६ महिना होमस्टे सुख्खा हुन्छ,’ उनले भनिन् । होमस्टेमा एकैचोटी ८५ जनालाई राख्न सक्ने क्षमता छ । प्रदेश सरकारबाट गत वर्ष पाएको १० लाख रुपैयाँले गाउँकै शिरानमा पिकनिक क्षेत्र बनाइएको छ ।

विदेशी शालिन, स्वदेशी…

गाउँमा बाटो नपुग्दासम्म स्वदेशीभन्दा विदेशी पर्यटक धेरै पुग्थे । बाटो पुगेपछि भने नेपाली पाहुनाको संख्या बढेको त छ, तर व्यवसायीहरु खुसी छैनन् । ‘विदेशी पाहुना हिँड्न मन पराउँछन् । प्राय उनीहरु हिँडेर यहाँ आउँछन,’ ताङतिङ गेस्ट हाउस सञ्चालक रोशमाया गुरुङ अनुभव सुनाउँछिन्, ‘तर नेपाली पाहुनालाई त घरसम्मै गाडीमा आउनुपर्छ ।’ उनले विदेशी पर्यटक निश्चित समयअनुसार हिँड्ने र त्यहीअनुसार खाने, सुत्ने गरेको सनाइन् ।

ताङतिङ होमस्टेकी सचिव पूर्णसुब्बा गुरुङको अनुभव पनि त्यही छ । गाउँमा ११ बजेपछि होहल्ला गर्न नपाइने भए पनि नेपाली पाहुनाले पालना नगर्ने भन्दै उनले भनिन्, ‘पाहुनाको चित्त दुखाइदिनु पनि भएन । कहिलेकाहीँ त रातभरि पनि हल्ला गरेर बसिदिन्छन् ।’ तर नेपाली पाहुनाले विदेशीले भन्दा धेरै खर्च गर्ने गरेको पनि उनले सुनाइन् ।

ताङतिङ पुग्ने स्वदेशी पर्यटक होमस्टे बस्ने र विदेशी पर्यटक गेस्ट हाउसमा बस्ने गरेको मादी-२ का वडाध्यक्ष एकजङ गुरुङ सुनाउँछन् । विदेशी पर्यटक पोखराका पर्यटन व्यावसायीको सम्पर्कमा त्यहाँ पुग्ने भएकाले होमस्टेमा बढी बस्ने उनको बुझाइ छ । भन्छन्, ‘नेपालीहरु प्राय ग्रुपमा आउँछन् र होमस्टे खोज्छन् । तर विदेशी पर्यटक सुरुमै योजना बनाएर हिँड्ने भएकाले होमस्टेमा थोरै आउँछन् ।’

तस्वीर : युनिश गुरुङ/अनलाइनखबर

]]>
https://tangtingtourism.com/2022/01/28/1923/feed/ 0
जहाँ बाह्रैमास फूल फूल्छ https://tangtingtourism.com/2022/01/28/1916/ https://tangtingtourism.com/2022/01/28/1916/#respond Fri, 28 Jan 2022 21:26:43 +0000 https://tangtingtourism.com/?p=1916 स्रोत- अनलाइन खबर

२३ पुस, पोखरा । गण्डकी प्रदेशको मन्त्रिपरिषद बैठकले असोज तेस्रो साता सार्वजनिक कार्यक्रमलाई छिटो छरितो र कम खर्चिलो बनाउन एउटा निर्देशिका तयार पार्‍यो । निर्देशिकाअनुसार जुनसुकै सार्वजनिक कार्यक्रम १ देखि ढेड घन्टामा सक्नु पर्ने र अतिथिलाई स्वागत तथा सम्मान गर्दा खादा, माला, अबीर एकसाथ लगाउन नपाइने थियो । तर, प्रदेश सरकारले लेकसाइडबाट भ्रमण वर्ष २०२० घोषणा गर्दा सबै अतिथिले माला पनि लगाए, खादा पनि लगाए । प्रदेश सरकारले आफ्नै नीतिविपरीत कदम चालेको भन्दै सामाजिक सञ्जालमा विरोध पनि भयो । तर, ती अतिथिले लगाएका फूलका मालाको कथा भने अर्कै छ ।

अतिथिले खादासँगै लगाएको माला भने कास्कीको मादी गाउँपालिका २ ताङतिङका महिलाले ल्याएका हुन् । ताङतिङ प्रवर्द्धन गर्न करिब ३ दर्जन गाउँले फूलमालासहित उदघाटन समारोहमा उपस्थित भएका थिए । तर, अतिथिको गलामा माला नभई खादा देखेपछि उनीहरु आफैं अग्रसर भएर माला लगाइदिए । गाउँमा हुने कार्यक्रममा पनि अतिथिमात्रै नभई सहभागी सबैलाई माला लगाइदिने ताङतिङको अतिथि सत्कार नीतिभित्र पर्छ । मादी खोला उक्लेर किनारैकिनार हिँडेपछि टाढैबाट देखिन्छ, पहेंलपुर ताङतिङ गाउँ । २०६८ सालमा गाउँमा होमस्टे खुल्दा आएका पाहुनालाई स्वागत तथा बिदाई गर्न फैलाइएको हजारी फूल अहिले गाउँकै चिनारी भएको छ ।

स्थानीय भाषामा ‘ताङतिङे बाह्रमासे हजारी’ नाम दिइएको फूल जुनसुकै मौसममा गए पनि त्यस्तै फूलिरहेको देख्न सकिन्छ । यो फूल ताङतिङबाहेक अरु ठाउँमा नफूल्ने दाबी स्थानीयको छ । ‘यो फूल बाह्रैमासे यस्तै हो । पाहुना आउँदा र यहाँ कार्यक्रम हुँदा लगाइदिन्छौं,’ स्थानीयबासी पूर्ण सुब्बाले भनिन्, ‘यो फूल अरु ठाउँमा लगेर रोप्यो भने सर्दैन । यतामात्रै फूल्छ ।’

गाउँमा फूलेको त्यो फूल अरु फूलजस्तै बीउ या ब्याडबाट उम्रदैन । एउटा बोट छिप्पिएपछि त्यसको हाँगा काट्छन् र त्यसैबाट फैलाउनुपर्छ । ‘बर्खायाममा हामीले फूल, डाँठ काटेर सार्छौं । त्यही डाँठबाट उम्रिएको बोटले वर्षभरि फूल्छ,’ मादी २ का वडाध्यक्ष रहेका स्थानीय एकजङ गुरुङले भने ।

फूल खेती गर्न गाउँपालिकाको अनुदान

त्यसैले मादी गाउँपालिकाले आफ्नो क्षेत्रभित्र हुने कार्यक्रममा आयातित फूल माला निषेध गरी गाउँकै जैविक माला नै लगाउने नीति ल्याएको छ । गाउँपालिकाको नीतिलाई सघाउ पुर्‍याउन ताङतिङका आमा समूहलाई व्यवसायिक फूल खेती गर्न अनुदान पनि दिइएको गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङ ‘श्याम’ले जानकारी दिए ।

ताङतिङका आमा समूहलाई गत वर्ष व्यावसायिक फूल खेती गर्न १ लाख रुपैयाँ अनुदान दिइएको थियो । ‘ताङतिङमा व्यवसायिक फूल खेतीको राम्रो सम्भावना देखेर गत वर्षदेखि आमा समूहलाई अनुदान दिन सुरु गर्‍यौं । आमा समूहको मेहेनतले अनुदान खेर गएन,’ उनले भने, ‘त्यो अनुदान हामीले वडा कार्यक्रमअन्तर्गत दिएका हौं ।’

व्यवसायिक फूलका लागि सुरुआतमा वडाले अनुदान दिए पनि त्यसैबाट आमा समूहले मनग्गे आम्दानी गरेपछि यो वर्ष अनुदान दिनु नपरेको वडाध्यक्ष एकजंग गुरुङले जानकारी दिए । ताङतिङमा ३ वटा आमा समूह छन् । ती आमा समूहले अनुदानमा आएको रकम आवश्यकताअनुसार बाँडेर सामूहिक फूल खेती गरेका हुन् । ‘प्रत्येक आमा समूहले फूल बेचेरै २ देखि ३ लाख रुपैयाँसम्म नाफा कमाइसक्यौं,’ स्थानीय रोशमाया गुरुङले सुनाइन् ।

पशुपतिसम्म पुग्छ फूल

करिब ५ वर्षअघि गाउँमा प्रवेश पाएको उक्त फूल अहिले सबैको घरघरै फूल्छ । ३ आमा समूहले गाउँकै करिब ८ रोपनी क्षेत्रफलमा फूल खेती गरेका छन् । ताङतिङका आमा समूहले फूलाएको फूल पोखरा, तनहुँमात्रै नभई काठमाडौं पशुपति मन्दिरका लागि पनि माग हुने स्थानीय जसबहादुर गुरुङ बताउँछन् ।

‘पहिले–पहिले फूल माग्दा डोकोभरि दिन्थे । तर, आजभोलि कतिवटा माला भनेर सोध्छन्,’ गुरुङले भने, ‘सामूहिक बाहेक पनि घरैपिच्छे फूल रोपेका छन् ।’ गाउँमा फूलमात्रै नभई आलु, सागलगायतका तरकारी पनि महिला समूहले सामूहिक खेती गर्दै आएका छन् ।

तस्वीर : युनिश गुरुङ/अनलाइनखबर

]]>
https://tangtingtourism.com/2022/01/28/1916/feed/ 0
क्रपु-डाँडा अर्थात् स्वर्गकै टुक्रा ! https://tangtingtourism.com/2022/01/28/533/ https://tangtingtourism.com/2022/01/28/533/#respond Fri, 28 Jan 2022 14:37:00 +0000 https://tangtingtourism.com/?p=533 प्रकाश गुरुङ ।

हाम्रो ताङतिङ गाउँ आन्तरिक पर्यटन केन्द्र बन्दै गएको छ । यहाँबाट देखिने हिमाल र गुरुङ जीवनशैलीले मोहित बनाउँछ। गाउँमा चहलपहल बढ्दै जाँदा ताङतिङको शिर ‘क्रपुडाँडा’मा पनि भिड लाग्न थालेको छ । हिउँ खेल्न पोखराबाट नजिकैको गन्तव्य हो क्रपु (२,९४० मिटर)। सधैं हिमालसँग आँखा जुधाउँछ क्रपु। डाँडामा पुग्नेहरू फर्किन मान्दैनन् । क्रपुले मोहनी जालमा बाँधिराख्छ। क्रपुको नाम गुरुङ भाषाबाट रहन गएको हो भन्ने जनश्रुति छ। ‘क्र’ भनेको गुरुङ भाषामा टाउको हो । अग्लो उच्च भागमा रहेको हुनाले तथा ‘क्र’ टाउको जस्तै शिरमा रहेको हुनाले यो ठाउँको नाम क्रपु रहन गएको हो ।

डाँडाबाट लमजुङ र कास्कीका धेरै गामबेसी देखिन्छन्। राती बिजुलीको उज्यालोमा खुलेको पोखरा झलमल्ल देखिन्छ। बिहानै सूर्योदय हेर्न पाइन्छ। एकै ठाउँमा उभिएर अन्नपूर्ण हिमशृङ्खला, माछापुच्छ्रे, लमजुङ हिमाल, मनास्लु हिमाललगायत दर्जनौ हिउँचुलीसँग पिरती गाँस्न पाइन्छ । क्रबुमा वर्षैभरि घुम्न सकिन्छ। बर्खामा भुईंफूल, असोज–कात्तिकमा छर्लङ्ग हिमाल, मंसिरदेखि फागुनसम्म हिउँ तथा हिमाल र चैतबैशाखमा लालीगुराँसको सौन्दर्यमा गम्किन्छ क्रपुडाँडा ।

लालीगुराँसको वैंशमा रमाउन पनि पाइन्छ। गुराँसको घारी बिचमा छ क्रपु । लेकाली खर्कहरू, चराचुरुङ्गीको चिरबिरले बर्डवाचिङ टुरिजमको संभावना उजागर गरेको छ । अन्नपूर्ण दोस्रो र लमजुङ हिमालको बीचबाट प्रायः आइरहने हिउँ पहिरो हेर्नलाई पनि क्रपुडाँडा । पुसदेखि फागुनसम्म ताङतिङ मास्तिर बाक्लो हिमपात हुन्छ। त्यतिबेला हिउँ खेल्न पोखरा र आसपासबाट सयौं युवा आउँछन् ।

क्रपुमा पुग्दा तन र मनमा ऊर्जा मिल्छ। व्यस्त दैनिकीबाट ह्याङ्आउट हुने सुन्दर गन्तव्य हो क्रपुडाँडा । डाँडा नजिकै धर्मशाला छ । क्रपुबाट १० मिनेट पदयात्रामा कुत्मीडाँडा (३०९० मिटर) पुगिन्छ । कुत्मीडाँडा नेचुरल भ्यूटावर हो । कास्कीको मादी गाउँपालिका–२ ताङतिङ गाउँको शिरमा रेहेको क्रपु स्वर्गको टुक्रै हो। यो लमजुङ र कास्कीको सीमामा पर्दछ । पर्यटकीय गाउँ ताङतिङ(१,६६५ मिटर) प्राकृतिक तथा ऐतिहासिकस्थल नौचुडाँडा (२,०४७ मिटर) नौलाचे (२,२०० मिटर) हुँदै क्रपुमा पुगिन्छ। क्रपु जाने बाटोमा आँखा अगाडि हिमाल, लालीगुराँसको घारी तथा हरियाली बाक्लो जंगलको स्वाद लिन सकिन्छ ।

यात्रामा चराचुरुङ्गीको चिरबिर, जंगली जनावरको आवाज मज्जाले सुन्न पाइन्छ । घना वनजंगल, चिसो हावापानी, हिमालसँगको सामिप्यता, सुन्दर गुरुङ गाउँ यात्राको विशेषता हुन् । जब ताङतिङ पुगिन्छ तब मन फुरुङ्ग हुन्छ । मनमा उत्साहको दियो बल्छ। क्रपुमा पुगेपछि त झन् नाचुँनाचुँ लाग्छ । क्रपुडाँडा लमजुङ र कास्कीको ट्रान्जिट पनि हो। लमजुङ र मनाङ पदयात्रा, तमुहरूको आदिम थलो क्हाेंलासोथर र दूधपोखरी जानलाई पनि क्रपुडाँडाको बाटो प्रयोग गर्न सकिन्छ ।

पोखराबाट ताङतिङ, क्रपु, चोरोडाँडा (३,३०० मिटर) हुँदै खोला क्लि ताङतिङ पदमार्ग, ताङतिङ, क्रपुडाँडा याङ्जाकोट पदमार्ग तथा क्रपुडाँडाबाट लमजुङका सुन्दर गाउँहरु सिङ्दी, पसगाउँ, भुजुङ घनपोखरा घलेगाउँ हुँदै बेसीसहर पुग्न सकिन्छ । कास्कीको याङ्जाकोट, भाचोक, वार्चोक तथा लमजुङको सिङ्दीबाट पनि पदयात्रामा क्रपु पुग्न सकिन्छ ।

ताङतिङ चम्किसक्यो । छोटो समयमै ताङतिङलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चिनाउन हामी सफल भएका छौं । अब क्रपुुलाई चम्काउँदैछौं। मादी गाउँपालिकाको सहयोगमा क्रपुडाँडामा पर्यटन पूर्वाधार विकासका काम हुँदैछ । ताङतिङमा १४ वटा होमस्टे र ७ वटा होटल सञ्चालनमा छन् । विशेष गरेर शुक्रबार र शनिबार आन्तरिक पर्यटक खचाखच हुन्छन्। क्रपुडाँडामा पनि खाना र बासका लागि टेन्ट सुविधासहितका ३ वटा होटल खुलिसके ।

पर्यटकीय राजधानी पोखरा नजिकैको ताङतिङ र क्रपुडाँडा घुम्न सबैलाई चुल्हे निम्तो छ है ! आउँदा मेरो मोबाइल नं ९८५६०२८८२७ सम्पर्क गरेर आउनु भयो भने हामी आवश्यक सहयोग गर्नेछौं ।

कसरी पुग्ने ?

पोखराको काहुँखोलाबाट ताङतिङसम्म सार्बजनिक बस तथा जीप चल्छन्। २१ किलोमिटर कच्ची सडकमा अढाई घण्टा बस यात्रा वा डेढ घन्टा जीप यात्रा। मोटरबाइक गाउँमै पुग्छ। ताङतिङबाट हिँडेर क्रपुडाँडा पुग्न ४ घन्टा, जीप वा बाइकमा १ घण्टा लाग्छ ।

(हिमालय मिलन मावि ताङतिङका प्रधानाध्यापक एवं पर्यटन अभियन्ता गुरुङ ‘ताङतिङ मेरो गाउँ’ पुस्तकका लेखक हुन्।)

स्रोत- सेतोपाटी

]]>
https://tangtingtourism.com/2022/01/28/533/feed/ 0
शहरिय तान्दैछ ताङतिङ, क्रपुडाँडामा हिउँ खेल्न पाइने https://tangtingtourism.com/2022/01/27/520/ https://tangtingtourism.com/2022/01/27/520/#respond Thu, 27 Jan 2022 10:53:00 +0000 https://tangtingtourism.com/?p=520 सञ्जय रानाभाट।

समाधान संबादाता ।

पोखरा । कास्कीको मादी गाउँपालिका २ ताङतिङका बालासिंह गुरुङ उमेरले चौरासी पुगे । ब्रिटिस आर्मीमा मेजरसम्म भएर गुरुङलाई गाउँले जीवन मनपर्छ । केही समयअघि छोराछोरीको उच्च शिक्षाका लागि भन्दै बजार ओर्लिएका गुरुङ यसको केही वर्षपछि फेरि गाउँमै फर्केका छन् । ब्रिटिस आर्मीबाट निवृत्त भएपछि परिवारै लिएर काठमाडौंको पुलतीसडकमा बसाइँ गएका गुरुङ १ महिनाअघि ताङतिङ फर्केका छन् ।

गाउँमा अवसर र सेवासुविधा नहुँदा छोराछोरी पढाउनकै लागि बजार झरेका गुरुङ श्रीमतीसहित गाउँ फर्केका हुन् । भन्छन्, ‘म त गाउँमै हुर्कें बढें, रोजगारीका लागि ब्रिटिस आर्मीमा भर्ती भएँ । ब्रिटिसमा हुँदा आधा संसार देखें, तर मेरो गाउँजस्तो स्वर्ग अरु देखिनँ । जन्मभूमि नै प्यारो हुँदोरैछ,’ उनले भने ।

बालासिंह दम्पत्ती

अवसरको खोजीमा बालासिंह जस्तै बजार ओर्लिएका धेरै ताङतिङे अचेल गाउँ फर्किन थालेका छन् । भूकम्पले भत्काएको घर पुनर्निर्माण गरी गाउँमै बस्न थालेका छन् । बालासिंहले पनि करिब ३० लाख रुपैयाँ खर्च गरेर घर पुनर्निर्माण गरेका छन् । काठमाडौंको पुतलीसडकमा ४ तले घर र पोखरामा २ तले घर भए पनि आफूलाई जन्मभूमि नै प्यारो लागेर गाउँफर्केको बालसिंह बताउँछन् । ‘बिस्तारै गाउँमा विकास हुन थालेको छ । बाटो गाउँमै आइसकेको छ । पढ्नका लागि १० कक्षासम्म गाउँमै स्कुल बनिसकेको छ । संसारभरिका पर्यटकका घुम्न गाउँमै आउँछन् । यस्तो ठाउँ छाडेर कसरी किन अन्त जाने ?’ उनी भन्छन् ।

“जनप्रतिनिधि आएयता ताङतिङबाट कसैले बसाइसराइ गरेको छैन, बरु गाउँ फर्कने थुप्रै छन्”

पोखराबाट पूर्वाेत्तरको गुरुङ बस्ती हो ताङतिङ । ढुंगाका छाना, ढुंगे छपनी छापेका आँगन, ढुंगैढुंगा छापेका बाटाघाटा भएको गाउँमा गुरुङको मौलिक संस्कृति जीवितै छ । हरेक घरका आँगनबाटै देखिन्छ अन्नपूर्ण हिमशृंखला । सहरको कोलाहलबाट वाक्क भएका थुप्रैजना एकान्त र गाउँको मौलिक स्वाद लिन ताङतिङ उक्लन्छन् । त्यस्ता सहरियालाई आतिथ्य दिन गाउँमा होमस्टे पनि छन्, होटल पनि छन् ।

ताङतिङमा जसै सहरी पर्यटकको आकर्षण बढिरहेको छ, रैथानेहरुले पनि गाउँले तान्न थालेको हो । पहिलापहिला गाउँलेको आम्दानीको स्रोत खासै केही थिएन । नगदको खोजीमा थुप्रैजना लाहुर जान्थे । प्रत्येक घरका कोही न कोही भारतीय सेना, बेलायती सैनिक र सिंगापुरे पुलिसमा भर्ती हुन्थे । प्राकृतिक सुन्दरताले भरिपूर्ण भएपनि यसको प्रचार नभएको र आधारभूत सेवा सुविधाबाट समेत गाउँमा नहुँदा कास्कीको विकट गाउँमा चिनिथ्यो । पर्यटकको आगामन शून्य थियो । बालासिंहका २ छोरा पनि लाहुरे हुन् । छोरी अमेरिका छिन् । गाउँको घरमा मर्मत गरेपछि अचेल होमस्टे सेवा सुरु भएको छ । होमस्टेको सञ्चालन भतिजीले गर्छिन् । होमस्टेबाट राम्रो आम्दानी भइरहेको बालासिंह सुनाउँछन् ।

‘होमस्टेले गाउँमा आम्दानीको बाटो भयो । गाउँमै रोजगारी सिर्जना भएको छ । सहरमा गएका मान्छेहरुलाई अब गाउँ फर्किन प्रेरणा मिलेको छ । यसमध्ये अहिले धेरै गाउँ फर्किसकेका छन् । केही फर्किने क्रममा छन्,’ उनले भने ।

लाहुरे भएर बिदामा आउँदा समाजका लागि के गर्न सकिन्छ । भनेर लाग्ने गरेको बालासिंह बताउँछन् । ‘चन्दा संकलन गरेर मेरो नेतृत्वमा गाउँमा खेलकुद मैदान बनेको छ । ताङतिङमा हुने चैतेदसैं मेला पनि मैले मेरो नेतृत्वमा सुरु भएको हो,’ उनी भन्छन् । ताङतिङ गाउँ पहिला यति अपरिचित थियो कि बालासिंहले घर ताङतिङ भन्दा थुप्रैले तानसेन र दाङसिङ भन्ठान्थे । अनि उनलाई गाउँको नाम फैलाउनुपर्ने रहेछ भन्ने लाग्यो ।

गाउँलाई चिनाउने भनेरै चैतेदसैं मेला सुरु गरिएको जानकारी उनले दिए । ‘प्रत्येक वर्ष चैतमा हुने मेलाले ताङतिङलाई विश्वमाझ चिनाएको छ,’ उनी गर्वसाथ सुनाउँछन् । ताङतिङ र चैतेदसैं मेलालाई प्रवद्र्धन गर्न बनेको गीत ताङतिङको मेलामा धेरैको जीब्रोमा झुन्डिएको छ । ‘यो कुराले नै मलाई गर्व लाग्छ । म अमेरिका घुम्न पुगेको थिएँ । त्यो बेला एउटा कार्यक्रममा ताङतिङको मेलामा भन्ने गीत बज्यो । अहिले मेला, महोत्सव, पार्टी कार्यक्रमहरुमा गीत हिट छ । गीतमात्र हैन गाउँ नै एउटा नमुना समाजको रुपमा स्थापित भएको छ,’ बालासिंह भन्छन् । सामाजिक सञ्जाल युट्युबमा १ करोडभन्दा बढीले यो गीत हेरिसकेका छन् । मादी गाउँपालिका वडा नम्बर २ ताङतिङका वडाध्यक्ष एक्काजंग गुरुङ गाउँ छाडेर बजारमा जानेको १ सय ५० जति छन् । ताङतिङमा १४ वटा घरमा होमस्टे सुविधा छ । ७ वटा होटल छन् ।

केही वर्षदेखि पोखरामा बसेर म्युजिक भिडिओमा कोरियोग्राफी गर्दै आएका थमन गुरुङ पनि गाउँमा गएर लज सञ्चालन गरिरहेका छन् । उनले घरलाई नै लजका रुपमा सञ्चालमा ल्याएका हुन् । ‘लजमा पनि प्रत्येक दिनजस्तो पोखरा आसपासका मान्छेहरु आउँछन् । अहिले दैनिक मान्छेहरु आउजाउ गरिरहेका छन् । १ नाइट बस्न रिफ्रेस हुन पाइने र हिउँ खेल्न पाइने भएपछि ताङतिङ प्रमुख गन्तव्य बनेको हो,’ उनले भने । ताङतिङ शिरको क्रपुडाँडामा वर्षका धेरै महिना हिउँ खेल्न पाइन्छ ।

गाउँमै गएर व्यवसाय गर्दा राम्रो हुने देखेपछि लज सुरु गरेको थमन बताउँछन् । ‘गाउँ प्रवद्र्धन पनि हुने, राम्रो आम्दानी पनि हुने देखेपछि यो पेसामा आएको हो,’ उनले भने, ‘अब गाउँमा आउने पर्यटकलाई सांस्कृतिक कार्यक्रमहरु देखाउँछौं । गाउँमा आउनेहरुले विभिन्न किसिमका रीतिरिवाजका कुराहरु सिकेर जान सक्छन् ।’ उनले पनि गाउँको घर मर्मत गरेर लज खोलेका हुन् । ‘गाउँमा आउने मान्छेले बजारमा जस्तै टेस्ट लिन चाहे लज छ । अर्गानिक खाने भए गाउँमा होमस्टे छन्,’ उनले भने ।

गाउँमा प्रत्येक दिन जस्तो गाउँमा १ सयजना पर्यटन भित्रने गरेको ताङतिङ सामुदायक होमस्टेकी अध्यक्ष पसमाया गुरुङ बताउँछिन् । ‘हामीहरुले गाउँमा केही गर्न सोचेका छौं । अहिले १४ घर परिवार होमस्टे सञ्चालनमा छन् । विस्तारै यो संख्या बढ्ने क्रममा छ । गाउँमा घरहरु पुनर्निर्माण हुँदै छ । गाउँ छाडेर गएकाहरु फर्केन क्रम बढ्दो छ । पर्यटकको संख्या दिन प्रतिदिन बढ्दो छ,’ उनी भन्छिन् ।

वडामा बसाइसराईं शून्य

बितेका ५ वर्षयता ताङतिङबाट कसैले पनि बसाइसराइ शून्य भएको वडाअध्यक्ष एक्काजंग गुरुङले जानकारी दिए । गाउँमै आम्दानीको बाटो र बजारसम्म आउजाउ गर्न सजिलो भएपछि गाउँ छोडेर जान बन्द भएको उनले बताए । भन्छन्, ‘बरु बजार छोडेर गाउँ आउनेको संख्या बढ्दो छ । जब स्थानीय सरकार आयो, यसपछि हामीहरुले गाउँबाट १ घरलाई पनि बसाइसराईंको पेपर बनाइदिन परेको छैन ।’ नेपालमा भएका कतिपय गाउँ खाली हुँदा ताङतिङ भरिभराउ हुनुमा यहाँ होमस्टे सञ्चालमा आउनु र जनप्रतिनिधिहरुले बजारसम्म जोड्ने मोटर बाटो बन्नु प्रमुख कारण भएको उनले बताए । ‘अहिले १ नाइट स्टे गरेर फर्किन्छु भने पनि भयो । नजिकै हिमाल हिउँ खेल्न पाइने भएपछि गाउँमा पर्यटक थपिने क्रम बढेको हो,’ उनले भने ।

पर्यटक बढ्दै गए गाउँमा रहेका १४ वटा होमस्टे र ७ वटा लज होटलले पर्यटकलाई धान्न नसकिने गाउँका समाजसेवी गाउँका अगुवा तथा शिक्षक ओमप्रकाश गुरुङले बताए । गाउँमा आएपछि हिउँ खेल्न जाने र यहाँ रहेका संस्कृतिक क्रियाकलाप मन पराउने भएकाले ताङतिङमा एक रातभने पनि बस्न आउने उनी सुनाउँछन् । ‘यहाँबाट नजिकै क्रपुडाँडामा हिउँ खेल्न पाइने भएकाले पर्यटक बढ्न थालेका हुन् । कोरोनाको महामारीमा पनि पर्यटक रोकिएन । महामारीको बेलामा पनि निरन्तर पर्यटक आइरहे । यसले पनि ताङतिङलाई पर्यटक माझ थप लोकप्रिय बनाएको छ ।’

पोखराबाट नजिक २१ किलोमिटरमा रहेको ताङतिङ गाउँ पुग्न बस जाँदा साढे २ घण्टा लाग्छ । जिपमा २ घण्टा, मोटरसाइकलमा ढेड घण्टा लाग्छ । क्रपुडाँडामा पर्यटक बढ्न थालेपछि गाउँका युवाले डाँडामा तीनवटा अस्थायी होटल/रेस्टुरेन्ट बनाएका छन् । ओमप्रकाश भन्छन्, ‘एकैदिन ४÷५ सय पाहुनाको व्यवस्थापन हामी गर्न सक्छौं । पाहुनाले घुम्न आउँदा क्रपुडाँडा घुम्न आउने प्याकेज लिएर आउँदा हुन्छ । गाउँबाट माथि बसमा १ घण्टा गएपछि १ घण्टाको यात्रामा क्रपुडाँडा पुगिन्छ ।’ गाउँको सामुदायिक होमस्टेमा बसाइ वापत प्रतिव्यक्ति एक हजार रुपैयाँ लाग्छ । यसमा बिहान बेलुकाको खाना र खाजा पर्छ । तर, क्रपुडाँडामा १ व्यक्तिको प्याकेजमा १ हजार ५ सय बस्न सकिन्छ ।

ताङतिङमा २०६८ सालमा होमस्टे सञ्चालमा आएको थियो । होमस्टे सञ्चालन गर्न गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) गण्डकी प्रदेशले सहयोग गरेको थियो । शुक्रबार भिटोफ गण्डकीका अध्यक्ष उदय सुवेदीको नेतृत्वमा गाउँमा अन्तक्रिया सम्पन्न भएको छ ।

अध्यक्ष सुवेदीका अुनसार गाउँमा थप पर्यटन भिर्‍याउन मञ्चले के गर्न सक्छ ? गाउँमा पर्यटनका सम्भावना के के छ ? होमस्टेलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने कुरामा अन्तक्र्रिया गरिएको अध्यक्षले सुवेदीले बताए । ‘ताङतिङ होमस्टेले मात्र नभएर प्राकृतिक सुन्दरताले पनि भरिपूर्ण रैछ । गाउँ नजिकै १ दर्जन हिमाल आँखै वरिपरि घुम्छन् । नजिकैको क्रपुडाँडा पर्यटकको नयाँ रोजाइ बन्न सक्छ । ३ घण्टामै नजिकबाट हिमाल हेर्न पाइने, हिउँ खेल्न पाइने भएपछि भविष्यमा गाउँमा पर्यटकको आइरो लाग्छ,’ उनले भने । गाउँसम्म आएकालाई क्रपुडाँडामा गएर हिउँ खेल्न उनले अनुरोध गरे ।

क्रपुडाँडा घुम्न अब प्याकेज बनाउन बनाएर आउनुपर्ने उनको भनाइ छ । गाउँमा ४÷५ दिनको भ्रमण प्याकेज बनाएर पर्यटन भुल्न सक्ने ठाउँ भएको उनी सुनाउँछन् । हामीहरु पनि अब भ्रमणका प्याकेज बनाउँछौं ।’ भिटोफको नयाँ कार्यसमिति सदस्यहरु अध्यक्ष सुवेदी, कोषाध्यक्ष कृष्ण भारती, सदस्य शिवराज त्रिपाठी, रमेश अर्याल, विश्व क्षेत्री गाउँ भिजिटमा पुगेका थिए । उनीहरुले गण्डकी प्रदेशका ११ वटै जिल्लामा पुगेर पर्यटन प्रवद्र्धन गर्ने बताए ।

स्रोत- समाधान न्युज

]]>
https://tangtingtourism.com/2022/01/27/520/feed/ 0
रमाइलो ताङतिङ https://tangtingtourism.com/2022/01/24/1933/ https://tangtingtourism.com/2022/01/24/1933/#respond Mon, 24 Jan 2022 22:06:00 +0000 https://tangtingtourism.com/?p=1933 स्रोत- नागरिक

अमृत भादगाउँले

१२ पुस २०७६

एकैछिन कल्पना गर्नुस् त, गुन्द्रीमा बसेर पुसको पहारिलो घाम ताप्दै हिमालतिर आँखा डुलाउँदा कस्तो अनुभूति होला ! त्यस्तै मिठो अनुभव हुन्छ ताङतिङमा जहाँ तन र मन न्यानो बन्छ। हिमाली सौन्दर्य, गुरुङ संस्कृति र आत्मीय सत्कारले ताङतिङमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै छ ।

कास्की जिल्ला, मादी गाउँपालिका–२ को ताङतिङ (१,६६५ मिटर) गुरुङ बस्ती हो। वारिपट्टि ताङतिङ छ भने पारिपट्टि सिक्लेस गाउँ । सिक्लेसको शिरमा उभिएका अन्नपूर्ण र लमजुङ हिमश्रृङ्खला ताङतिङबाट छर्लङ्ग देखिन्छन् । गुरुङ भाषामा ताङतिङ गाउँलाई ‘तोनी नासा’ भनिन्छ। ‘तोंउ’ भनेको ‘रमाइलो’ र ‘नासा’ भनेको ‘गाउँ’। त्यसैले ताङतिङ ‘रमाइलो गाउँ’ हो। गाउँले आत्मीय छन्, मायालु छन् र मन खोलेर सत्कार गर्छन् ।

ग्रामीण जीवनशैलीको सुवास पाइन्छ त्यहाँ। शहरमा हुर्केका र हुर्किंदै गरेकालाई गाउँको जीवनशैली चखाउन ताङतिङ उपयुक्त गन्तव्य बन्न सक्छ ।

गाउँमा दुई सय घर छन् । ढुंगाको छाना, ढुंगाकै गारो र ढुंगा नै छापिएका आँगन। चिरिच्याँट्ट घरहरू । ताङतिङमा ढिकीमा खाद्यान्न कुटेको, जाँतोमा दाल र मकै पिसेको, चर्खामा धागो कातेको, घट्टमा अन्न पिसेको, मान्द्रो बुनेको र गोठमा दूध दुहेका दृश्य सामान्य हुन्। खेतीपातीमा झुमेका छन् गाउँले ।

ताङतिङको सेरोफेरोमा फन्द्रडाँडा, क्रबुडाँडा, काउँपाखा, बाजे बैगु, झरना, कोइचो, पलाचीडाँडा, फोलाम्रो र नौचुडाँडा जस्ता घुमफिर गन्तव्यहरू छन् । त्यस्तै बोन गुम्बा, कोइवा धिँ र बौद्ध गुम्बा छन् । गुम्बामा ध्यान र पूजापाठ गर्न सकिन्छ ।

पर्यटन गोरेटोमा हिँड्दै गरेको ताङतिङमा खाना र बासका लागि होमस्टे एवं होटल सुविधा छ । गुरुङका १४ घरमा होमस्टे गराइन्छ भने ५ वटा होटल पनि छन् । सामान्यतः हजार रुपैयाँमा डिनर, बेड, ब्रेकफास्ट र लन्च पाइन्छ। पाहुनालाई उनीहरू गाउँमै उत्पादित खाद्यान्नबाट तयार भएका खानेकुरा खुवाउँछन् ।

होमस्टेको आफ्नै मर्यादा हुन्छ। आचारसंहिता हुन्छ । पाहुनाले त्यसको पालना गर्नुपर्छ। होमस्टेमा जाँदा पहिल्यै खबर गर्नुपर्छ । घाम नडुब्दै गाउँमा पुग्नुपर्छ। त्यसो भयो भने उनीहरूलाई पाहुनाको स्वागत गर्न र खाना बनाउन सजिलो हुन्छ ।

गाउँका महिला र पुरुषले फूलमाला लगाएर स्वागत गर्छन् । उनीहरू होमस्टेमा बाँडेर पाहुना राख्छन् । पाहुनाको माग अनुसार राति घाटु, झ्याउरे, सोरठी र ठेटर नाच्छन्। पाहुनालाई पनि नचाउँछन् ।

ताङतिङ सेरोफेरोमा सिक्लेस र याङ्जाकोट गाउँ छन् । ती पनि घुम्नलायक छन् । ताङतिङमा दुई रात बस्नेगरी यात्रा योजना बनाएमा एक दिन नजिकैका रमणीय डाँडामा हाइकिङ गर्ने समय हुन्छ । फर्कंदा गाउँबाट मह, भांग्रा, गेडागुडी र सागसब्जी कोसेली ल्याउन पाइन्छ ।

पहारिलो घाममा हिमालसँग आँखा जुझाउँदै बसेको ताङतिङ तपाईको पर्खाइमा छ । अब भन्नुस्, कहिले जानुहुन्छ रमाइलो ताङतिङ ?


कसरी पुग्ने : काठमाडौं–पोखरा २०० किमि, बसमा ६ घन्टा । अथवा काठमाडौं–पोखरा २५ मिनेट हवाईयात्रा। पोखरा–ताङतिङ २१ किमि । पोखराको काहुँखोलाबाट ताङतिङ जाने बस र जीप पाइन्छ । मोटर बाइक पनि गाउँसम्मै पुग्छ। काहुँखोलाबाट बिहान ८ र अपरान्ह ४ बजे बस छुट्छन् ।

पर्यटन गाउँ

प्रकाश गुरुङ,प्रधानाध्यापक, हिमालय मिलन मावि

पर्यटनबाट आर्थिक समृद्धि हासिल गर्न सकिन्छ। त्यसैले हामी ताङतिङलाई ‘पर्यटन गाउँ’का रूपमा चम्काउँदै छौं। हामी स्वदेशी तथा विदेशी पर्यटकको हृदय खोलेर स्वागत गर्छौं। गाउँको पर्यटन विकासमा आमा समूहको योगदान ठूलो छ। गाउँको प्रचार गर्न हामीले डिजिटल मार्केटिङमा जोड दिएका छौं ।

सम्पर्क : ९८५६०२८८२७

]]>
https://tangtingtourism.com/2022/01/24/1933/feed/ 0